म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ७ प्रभु-चेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभु-चेलाको अध्ययन, अनुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ ।
प्रभु-चेला धुरी प्रवर्द्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरिएको बताए । “जङ्गलको बीचमा रहेको समथर प्रभु-चेलाको धार्मिक महत्त्व नबुझेर यहाँ पहिले हामीले गोठ राख्ने गरेका थियौँ”, उनले भने, “परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको दुुई वर्षअघिको अध्ययनबाट तथ्य पहिचान भएपछि संरक्षण, प्रवर्द्धन र पूर्वाधार निर्माणमा जुुटेका छौँ ।”
समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । ऋषिमुनि तपस्या गर्न आउने प्रभु-चेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ । यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको प्रभु-चेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताए ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रू. १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ । प्रभु-चेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुिन आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले १९७० देखि १९७५ सालसम्म यही ठाउँमा तपस्या गरेका थिए।
कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभु-चेला धुरीबाट धौलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट सोरवाङदेखि प्रभु-चेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनुभएको छ । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुनःनिर्माण गरेका छन् ।
छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र ट्याङ्की निर्माण भएको छ । आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किदा आश्रय लिन सहज भएको छ । समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभु-चेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ ।
प्रभु-चेलालाई ध्यान केन्द्रको रूपमा विकास गर्न चालू आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रु ५० लाख विनियोजन गरेको छ । बिम मालिका सङ्घले करिब रु २५ लाख जुटाएको छ ।
Facebook Comment
Comment