भूकम्पका ४८ घाइते निको भएर घर फर्किए

नेपालभ्युज

भूकम्पका ४८ घाइते निको भएर घर फर्किए
भूकम्पका घाईते निको भएर घर फर्किदै राँझा (बाँके), २८ कात्तिक : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारपश्चात निको भई घर फर्किदै जाजरकोट भूकम्पका घाइते बिरामी । उपचारका लागि भेरीमा ल्याइएका ५८ मध्ये ४८ बिरामी निको भएर घर फर्किएका छन । तस्बिर : भेषराज बस्नेत - रासस

बाँके। जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् ।

अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका ६ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

“सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ । अब भेरीमा शल्यक्रिया गरिएका ६ बिरामीमात्रै हुनुहुन्छ,” उनले भने, “उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।”

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि उक्त वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किएका छन् । तीनजनालाई काठमाडौं प्रेषण गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

निको भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न विभिन्न सङ्घ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका छन् । भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्ण रुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved