काठमाडौं । छिमेकी मुलुक भारतले जाजरकोट भूकम्पपीडितका लागि थप राहत सामग्री पठाएको छ। तेस्रो चरणको राहत सामग्री लिएर भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान बिहीबार साँझ नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो।
उक्त सामग्री भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर श्री प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्री श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरे ।

तेस्रो खेपको राहत सामग्री भारतीय राजदूतावासका प्रतिनिधिले नेपाली पक्षलाई हस्तान्तरण गरेका छन्। आज पठाइएको राहत सामग्रीमा ब्ल्यांकेट, स्लिपिङ ब्याग, टेन्ट र औषधि छन्।
भारतीय दूतावासले एक विज्ञप्ती जारी गर्दै तेस्रो चरणमा थप १२ टन राहत सामग्री नेपाल आइपुगेको जानकारी दिएको छ । दूतावासले भारत सधैं नेपालको भरपर्दो साझेदार रहिरहने उल्लेख गरेको छ ।

भूकम्पपीडितलाई सहयोगका लागि बाह्य मुलुकमध्ये सबैभन्दा पहिला सक्रियता देखाएको भारतले यसअघि दुई पटक ठूलो मात्रामा राहत सामग्री पठाएको थियो।
ती सामग्री भूकम्प प्रभावित क्षेत्रमा वितरण भइसकेको छ।
Facebook Comment
Comment