काठमाडौं । सल्यानका स्थानीय तहहरूले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई २० लाख रुपैयाँ नगद पठाउने भएको छ । जिल्लाका दश वटा स्थानीय तहहरूले दुई\दुई लाख रुपैयाँको दरले राहत रकम उठाएर एकमुस्ट २० लाख रकम जम्मा गरी राहत स्वरूप उपलब्ध गराउने भएको हो ।
एकद्वार प्रणालीबाट २० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले जानकारी दिए । ‘आइतबार जिल्ला विपद् व्यवस्थापन समिति, सल्यानको बसेको बैठकले यो निर्णय गरेको हो ।’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय मार्फत नै राहत दिने निर्णय गरेका छौँ ।’
उक्त बैठक पश्चात् जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको अध्यक्षतामा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सहित बसेको बैठकले एक स्थानीय तहबाट दुई लाख रुपैयाँको दरले रकम उठाएर भूकम्प पीडितलाई दिने निर्णय गरेको हो ।
स्थानीय तहहरूले जिल्ला विपद् व्यवस्थापन कोषमा राहत स्वरूपको रकम जम्मा गरी उक्त रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रतिशत रुकुम पश्चिममा पठाइने छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताए ।
Facebook Comment
Comment