काठमाडौं । सर्वोच्च अदालतले आममाफी दिने सरकारको निर्णयविरुद्ध फैसला गरेसँगै प्रहरीले रिगल भनिने योगराज ढकालको खोजी थालेको छ ।
अदालतले सरकारको निर्णय उल्ट्याउँदै तत्काल पक्राउ गर्न आदेश दिएपछि प्रहरीले रिगलको खोजी थालेको हो ।
बिहीबार न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।
आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
रिगलमाथि नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोग छ । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
Facebook Comment
Comment