घुमफिरमा रमाउने नेपाली बढेसँगै फस्टायो आन्तरिक पर्यटन

नेपालभ्युज

घुमफिरमा रमाउने नेपाली बढेसँगै फस्टायो आन्तरिक पर्यटन

पोखरा । अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दशैं बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाए ।

दशैंको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्केका उनी चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किए ।

पेसाले शिक्षक खड्काले दशैंकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीयस्थलको घुमघाम गरिसकेका छन् । ‘दशैंको बिदामा पदयात्रामा निस्कनुको मज्जा नै बेग्लै हुन्छ, शरद ऋतु यसै पनि घुमौँघुमौँ लाग्ने याम हो’, उनले भने, ‘नयाँ ठाउँको संस्कृति, रहनसहन र भूगोलबारे जान्न यात्राले सघाउँछ ।’

पदयात्रा आफैँमा रोमाञ्चक र आनन्ददायक हुने खड्काको अनुभव छ । ‘मर्दी यात्रा पनि स्मरणीय रह्यो, छोटो दूरीको पदयात्राका लागि मर्दी ट्रेक उपयुक्त गन्तव्य रहेछ’, उनले सुनाए, ‘दशैंलगत्तै मर्दी ट्रेक घुम्न निस्केका पर्यटकको बाटैभरि लर्को नै थियो ।’

खड्कासहितको टोली कास्कीको काँडेबाट छिरेर दुई दिनको पदयात्रामा मर्दी हिमालको आधार शिविर पुगेको थियो । फर्किंदा लान्द्रुक, नयाँपुल हुँदै बागलुङ फर्केको खड्काले बताए । पोखरा महानगरपालिका–२९ भण्ढारढिककी आरजु खत्रीले पनि यसपालिको दशैं बिदामा घुम्नका लागि मर्दी आधार शिविरलाई रोजिन् ।

काठमाडौँबाट आएका दुई साथीसहित दशैंको पर्सीपल्ट उनले मर्दीका लागि यात्रा तय गरेकी थिइन् । ‘काँडे, अष्ट्रेलियन क्याम्प, देउराली हुँदै पहिलो दिन हाइक्याम्प पुगेर बास बस्यौँ, दोस्रो दिन मर्दी आधार शिविर पुगेर देस्रो दिन घर फर्कियौँ’, खत्रीले भनाइ छ, ‘हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो ।’

पछिल्लो एक दशकयता नेपालीहरूमा घुम्ने संस्कृति ह्वात्तै बढेको पर्यटन व्यवसायीहरुबताउँछन् । अन्नपूर्ण आधार शिविर, मर्दी, तिलिचो, थोरङ्ला भञ्ज्याङलगायत क्षेत्रमा पदयात्रा गर्नेको सङ्ख्या उल्लेख्य छ, विशेष गरी नेपाली युवामा घुम्ने क्रेज बढ्दो छ, सपरिवार पनि घुम्न निस्कने चलन बढिरहेको छ । कोभिड–१९ महामारीताका सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले विस्तारै पुरानै लय पछ्याउँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved