काठमाडौं। चर्चित तथा लोकप्रिय गायक यम बरालको एकल साँझ कार्यक्रम काठमाडौंमा हुने भएको छ। बडादशैँ तथा दीपावलीको सन्दर्भमा १८ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा कार्यक्रम हुने भएको हो। कन्सर्ट साँझ ५ बजेदेखि हुनेछ।
‘सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरूप यम बराल साँझ गरिन लागिएको आयोजक ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले जनाएको छ।
चेपाङ, दलित समुदायको वासस्थान रहेको धादिङ गजुरीको डोल भञ्ज्याङ माबिमा सहयोगको लागि कन्सर्ट गरिन लागिएको ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’का अध्यक्ष कल्पना बस्नेतले बताइन्।
सो स्कुलमा विद्यालयमा प्रजा (चेपाङ) समुदायका १९६, तामाङ समुदायका २०० जनासहित ५४१ जना विद्यार्थीले सो विद्यालयमा अध्ययन गर्छन्।
क्लबले कार्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत सम्भारका लागि विद्यालयलाई हस्तान्तरण गर्ने योजना बनाइएको आयोजकले जनाएको छ।
कार्यक्रमबाट संकलन, भएको केही रकम क्यान्सरबाट पीडित गायिका जमुना थापा र तुलसादेवी फाउन्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने समेत योजना छ।
इलामको फिक्कलमा जन्मिएका गायक यम बरालले २०४७ सालमा रेडियो नेपालमा सागरभन्दा गहिरो बोलको गीत गाएर नेपाली साङ्गितिक क्षेत्रमा प्रवेश गरेका हुन्। उनले रेडियो नेपालबाट २०४९ सालमा प्रथम पुरस्कार पाएका थिए।
उनका ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, ‘अब चोटहरू’ निस्ठुरीले छोडेर गईहाली’लगायत सुमधुर गीतहरू आजका पुस्तासम्म पनि सर्वाधिक चर्चित र अनुकरणीय छन्। १०० भन्दा बढी चलचित्रमा आफ्नो स्वर दिइसकेका गायक यम बरालले २००० भन्दा बढी गीतहरू रेकर्ड गराइसकेका छन्।
अमेरिका, यु. के., कोरिया, कतार, जापान, फ्रान्स लगायत युरोपका धेरै राष्ट्रहरूमा पुगी आफ्नो साहित्यिक प्रस्तुति दिइसकेका छन्।
उनको योगदानको कदर गर्दै राज्यले गोरखा दक्षिणबाहु चौथो, नारायण गोपाल पुरस्कार, छिन्नलता पुरस्कार जस्ता प्रतिष्ठित पुरस्कारहरूबाट सुशोभित गरिसकेको छ। गायक बरालले ‘तिमिलाई सम्झिँदा’ नामक चलचित्र पनि बजारमा ल्याउँदै छन्।
Facebook Comment
Comment