काठमाडौं। नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवास गोपाल वैद्यले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई २ लाख नगदसहित सम्मान गरेका छन् ।
चीनको हानजाउमा भएको एसियाली खेलकुदमा कराते टोलीका व्यवस्थापक समेत रहेका वैद्यले १९ औँ एसियाली खेलकुदमा कराते खेलाडीले पदक जिते व्यक्तिगत नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । सोमबार पाटनस्थित अशोक हलमाआयोजित एक कार्यक्रममा पूर्व घोषणा बमोजिम वैद्यले एरिकालाई २ लाख रुपैँयाको चेक हस्तान्तरण गरेका हुन् ।
एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । एसियाली खेलकुदमा नेपालले करातेमा पहिलोपटक रजत पदक जितेको हो । १९ औँ एसियाली खेलकुदमा नेपालले दुई पदक जितेको थियो । महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो ।
एरिकाले सेमिफाइनलमा हङकङकी यानकाई होलाई ८-४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । फाइनलमा भने एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० अंकले पराजित भइन् । त्यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । एसियाडको इतिहासमा एरिकाको सहित नेपालको समग्रमा तेस्रो रजत हो ।
एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाएकी थिइन् । सविताले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत स्पर्धामा रजत जितेकी थिइन् । त्यस्तै इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको प्याराग्लाइडिङमा नेपाली पुरुष टोलीले टिम स्पर्धामा रजत जितेको थियो । एसियाडको करातेमा एरिकाअघि समरबहादुर गोले, सीताकुमारी राई र विमला तामाङले कांस्य जितेका थिए ।

Facebook Comment
Comment