कोशीमा सत्ता दाउपेचको श्रृंखला : १० महिनामा पाँच मुख्यमन्त्री, कति टिक्लान् केदार ?

अब कार्की नेतृत्वको सरकार कति टिक्छ भन्ने यकिन छैन। यही सरकार टिकाउने वा प्रदेशलाई मध्यावधि निर्वाचनमा होम्ने भन्ने विषय राजनीतिक दलहरूकै गतिविधिमा भर पर्छ।

नेपालभ्युज

कोशीमा सत्ता दाउपेचको श्रृंखला : १० महिनामा पाँच मुख्यमन्त्री, कति टिक्लान् केदार ?

काठमाडौं। २०७४ फागुनमा सरकार गठन भएको कोशी प्रदेशले साढे ६ वर्षमा आठौं मुख्यमन्त्री पाएको छ। आमजनता प्रदेश सरकारसँग सन्तुष्ट हुन नसकिरहेको समयमा कोशीमा पछिल्लो प्रदेशसभा निर्वाचनपछिका १० महिनामा मात्रै पाँचपटक मुख्यमन्त्री हेरफेर भएको छ ।

यस क्रममा सरकार गठनका लागि संविधानमा उल्लेख गरिएका सबै विकल्प प्रयोग भइसकेका छन्। पछिल्लोपटक शनिबार अन्तिम विकल्पबाट कांग्रेस नेता केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै आठौं मुख्यमन्त्री बने। मुख्यमन्त्री बन्ने उनी छैटौं  व्यक्ति हुन्।

अब कार्की नेतृत्वको सरकार कति टिक्छ भन्ने यकिन छैन। यही सरकार टिकाउने वा प्रदेशलाई मध्यावधि निर्वाचनमा होम्ने भन्ने विषय राजनीतिक दलहरूकै गतिविधिमा भर पर्छ।

०००

कांग्रेस, माओवादीलगायतका गठबन्धनबाट कोशीमा मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी गरेका थिए। तर, कांग्रेसको संस्थापनइतर शेखर कोइराला पक्षले अर्को उम्मेदवार उठायो, जसलाई एमालेले समर्थन गर्‍यो। जसका कारण कांग्रेस इतर पक्षका केदार कार्की शनिबार कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए।

गठबन्धनमा विद्रोह गर्दै डा. शेखर कोइराला पक्षधर कार्कीले दाबी पेस गरेपछि यसको तरङ्ग केन्द्रीय गठबन्धनमा पनि परेको छ।

प्रधानमन्त्रीले पनि चितवन पुगेर अब कार्कीलाई नै गठबन्धनले विश्वासको मत दिने बताएपछि तत्काललाई केन्द्रको सत्ता गठबन्धनको संकट टरेको देखिन्छ। तर, प्रदेशको अस्थिर राजनीतिले कुन मोड लिन्छ ? अझै मोहडा देखिएको छैन।

क-कसको बने सरकार

कार्की प्रदेशका आठौं मुख्यमन्त्री हुन्। व्यक्तिका हिसाबले उनी छैटौं हुन्। प्रदेशसभाको पहिलो कार्यकालमा शेरधन राई मुख्यमन्त्री भएका थिए। उनी ३ फागुन २०७४ मा पहिलो मुख्यमन्त्री बनेका थिए। उनी १० भदौ २०७८ सम्म पदमा रहे। त्यसपछि भीमप्रसाद आचार्य १० भदौ २०७८मा मुख्यमन्त्री बने। उनी १७ कात्तिक २०७८ सम्म पदमा रहे।

त्यसपछि एमाले विभाजन र केन्द्रका सत्ता परिवर्तनपछि राजेन्द्र कुमार राई मुख्यमन्त्री बने। उनी १७ कात्तिक २०७८ देखि २५ पुस २०७९ सम्म पदमा रहे। संसद्को पहिलो कार्यकालमा तीनजना मुख्यमन्त्री बनेका कोशीमा दोस्रो कार्यकालमा ५ जना मुख्यमन्त्री बनिसके।

चुनावयता कोशी प्रदेशमा १० महिनामा पाँचपटक मुख्यमन्त्री फेरिएका छन्। हिक्मतकुमार कार्की र उद्धव थापा दुई-दुईपटक मुख्यमन्त्री बने। अहिले केदार कार्की आठौं मुख्यमन्त्री बनेका छन्।

प्रदेशसभाको दोस्रो निर्वाचन भएसँगै पुस २४ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए। राजनीतिक उतारचढावसँगै गठबन्धन फेरबदल भएपछि सत्ता साहयात्री जसपा र माओवादीले समर्थन फिर्ता लिएपछि संसदबाट विश्वास गुमाएर कार्की मुख्यमन्त्री रहेको एमाले नेतृत्वको सरकार ढल्यो।

त्यसपछि तत्कालीन सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री बने। दोस्रोपटक मुख्यमन्त्री बनेपछि विश्वासको मत लिँदा संविधानको उल्लंघन गर्दै सभाको अध्यक्षता गरिरहेका इसराइल मन्सुरीको पनि मत दिएका थिए। थापाको दुवै पटकको सत्तायात्रामा सर्वोच्च अदालतले ‘ब्रेक’ लगाइदियो।

संसदबाट विश्वासको मत नपाउने अवस्था बनेपछि असोज २० गते पदबाट उनले राजीनामा दिएसँगै प्रदेशमा सरकार गठनसँग सम्बन्धित संविधानको अन्तिम विकल्पको प्रयोग भएको हो। जुन विकल्पबाट अहिले मुख्यमन्त्री बनेका हुन्।

कार्की कति टिक्लान् ?

प्रदेशसभाको अंकगणितीय जटिलताले कोशीमा सरकार अस्थिर बन्न पुगेको हो । ९३ सदस्यीय प्रदेशसभामा कुनै एक दलको स्पष्ट बहुमत छैन । संघ र अन्य प्रदेशमा सरकार चलाइरहेका गठबन्धन दलसँग कोशी प्रदेशसभामा बहुमत छ, तर विश्वासको मत सुनिश्चित छैन ।

विपक्षमा रहेका दल एमाले र राप्रपासँग बहुमत पुग्दैन । त्यही कारण सरकार गठनको एकपछि अर्को अभ्यास भइरहेको छ । अहिलेका केदार कार्की पनि कति समय पदमा टिक्छन् थाहा छैन।

अहिले कार्की कांग्रेसभित्र विद्रोह गरेर मुख्यमन्त्री भएका हुन् । त्यही कारण कोशी प्रदेशको राजनीति कसरी अघि बढ्छ भन्ने अझै मोहडा देखिएको छैन।

कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसबाट उनीसहित आठ र एमालेका ३९ सांसद एक ठाउँ आएका थिए । नियुक्तिपछि कार्कीकै पक्ष लिने संकेत गठबन्धनले गरेको छ ।

अस्थिरताको कारक सत्तास्वार्थ

राजनीतिक विश्लेषकहरू सत्तास्वार्थको कारण यसरी लगातार सरकार परिवर्तन भएको बताउँछन्। जसकारण दल र नेताको व्यवहारले जनतामा संघीयताप्रति वितृष्णा र निराशा बढाउने काम मात्रै गरेको छ।

१० महिनामा पाँचौं मुख्यमन्त्री पाउनुले ‘संघीयता कसरी गुज्रिँदै छ भन्ने एउटा उदाहरण भएको’ राजनीतिक विश्लेषक आचार्य बताउँछन्।

‘‘संघीयताका नाममा साह्रै अस्थिरता भयो। सङ्घीयताबाट अघाइसकियो भन्ने ठाउँमा जनता पुगिसके। यसको कारण सत्तास्वार्थ हो,’’ उनी भन्छन्, ‘‘अब अहिले नयाँ मुख्यमन्त्री बन्नुमा भित्री स्वार्थ जे-जस्तो भए पनि प्रदेशलाई मध्यावधिमा जानबाट रोकेर राजनीतिलाई सहज निकास दिएको छ। अब यही सरकार पूरा कार्यकाल टिकोस्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved