इजरायल जाने जहाज बिहान ४ बजे मात्रै उड्यो, दुई सय ५४ नेपाली लिएर आजै राति नेपाल फर्कने

नेपाल एअरलाइन्सको जहाज ढिलो गरी बिहान ४ बजे दुबईको लागि उडेको छ । परराष्ट्रमन्त्री एनपी साउद समेत सवार रहेको जहाज राती साढे २ बजे उड्ने तालिका रहेपछि डेढ घन्टा ढिलो गरेर मात्रै उडेको हो ।

नेपालभ्युज

इजरायल जाने जहाज बिहान ४ बजे मात्रै उड्यो,  दुई सय ५४ नेपाली लिएर आजै राति नेपाल फर्कने
तश्वीर : जेट फोटोज

काठमाडौं । इजरायलबाट नेपाल आउन चाहने विद्यार्थीलाई लिन नेपाल एअरलाइन्सको जहाज त्यसतर्फ उडेको छ । नेपाल एअरलाइन्सको जहाज ढिलो गरी बिहान ४ बजे दुबईको लागि उडेको छ ।

परराष्ट्रमन्त्री एनपी साउद समेत सवार रहेको जहाज बिहान साढे २ बजे उड्ने तालिका रहेपछि डेढ घन्टा ढिलो गरेर ४ बजे मात्रै उडेको हो ।

यो जहाजले दुबईमा नियमित उडानका यात्रु ओरालेपछि इजरायल जानेछ । इजरायलबाट पनि दुबई हुँदै नेपाल आउनेछ ।

उनीहरूलाई लिएर जहाज बिहीबार नै बेलुकी ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो तर नेपालबाट उड्दा नै ढिलो गरेकाले फर्कँदा पनि ढिलो हुने अनुमान छ ।

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। उनले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने बताइन । त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको थियो ।

नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो। त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थी भने हमासको आक्रमणमा परी दिवङ्गत भएका थिए। उनीहरूको शव भने उक्त विमानमा नल्याइने भएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको बताइन ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान उडेको निगमको एयरबस ३३० जहाज स्थानीय समय अनुसार बिहीबार बिहान ९:१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

निगमको उडान तालिका अनुसार अप्रेसन डाइरेक्टर (सिनियर क्याप्टेन) श्रवण रिजालको नेतृत्वमा उक्त जहाज जान लागेको हो।

जहाज तेल अभिवबाट स्थानीय समय अनुसार बिहान ११:१० उडेर पुनः दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । क्याप्टेन रिजाल र उनका सहोदर दाइ सिनियर क्याप्टेन सुवास रिजालले यसअघि २०७३ असारमा काबुलमा मारिएका १२ नेपालीको शवसहित २४ जना नेपालीलाई उद्धार गरी काठमाडौँ ल्याएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved