म्याग्दी। म्याग्दीको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ ।
ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ ।
सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । मुद्दा दर्ता भएको ९० दिनभित्र अनुसन्धानको सबै प्रक्रिया पूरा गरेर सरकारी वकिलमार्फत जिल्ला अदालत म्याग्दीमा मुद्दा अघि बढेको छ ।
भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुनासो गरेका छन् । सहकारीले २०७९ बैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।
सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत सङ्कलन गरेको सहकारीले छ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्यूरोडमा करिब रु छ करोडमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।
सो सहकारीको बेनी शाखामा एक हजार चार सय ८४ जनाको रु छ करोड १० लाख बचत रहेकामा दुई सय ८२ जनाले मात्र उजुरी गरेका हुन् । निक्षेप फिर्ता नगरेको जनाउँदै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारी संस्थाविरुद्ध उजुरी पर्ने क्रम बढेको छ ।
Facebook Comment
Comment