स्वर्गको टुक्रा शैलुङमा ‘स्पार्क एड्भेञ्चर’

नेपालभ्युज

स्वर्गको टुक्रा शैलुङमा ‘स्पार्क एड्भेञ्चर’

रामेछाप। दुई रात तीन दिन चौंरीसँग बिताउँदै पर्यटकीय स्थल शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ। दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले कार्यक्रम सम्पन्न गरेको हो।

‘वाइल्ड स्टे विथ चौंरी’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा क्याप्टेन विजय लामा, एक्सन स्टार निखिल उप्रेती, गायक यश कुमार, गायक प्रेम राजा महतलगायत दुई सय जनाभन्दा बढीको सहभागिता रहेको थियो।

बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजासहित एडभेञ्चरको उद्घाटन गरिएको थियो । विभिन्न ठाउँमा स्थानीयहरूबाट गरेको सम्मान तथा स्वागतमा रमाउँदै पर्यटकहरू शैलुङसम्म पुगेका थिए ।

बिहीबार साँझ खोलाखर्कमा स्थानीय संस्कृतिअनुसार स्वागतपश्चात् पर्यटकहरू करिब ३५ मिनेटको पैदल यात्रामा शैलुङ पुगेका थिए । करिब ५० वटा गाडीमा लामबद्ध भएर गएका विभिन्न क्षेत्रका पर्यटकहरूले स्थानीय लोकल परिकारको स्वाद चाख्दै क्याम्पिङ टेन्टभित्र बस्दा निकै उत्साहित थिए ।

असोज ११ देखि १३ गतेसम्म आयोजना गरिएको स्पार्क एड्भेन्चरमा लोकगायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, कलाकार स्वानिका बास्तोला,  गायक यश कुमार, लेखक बुद्धिसागर, डा. रञ्जित बराल, कमेडियन कैलाश कार्की,  ट्राभलर सिर्जना सिज्जु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी भएका थिए । एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादे, चिकित्सक, विभिन्न दूतावासका प्रतिनिधि, कूटनैतिक नियोगका प्रतिनिधिलगायत फरक-फरक क्षेत्रमा संलग्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक अमर दीप भट्टराईले भौगोलिक हिसाबले गाह्रो हुँदाहुँदै पनि शैलुङमा कार्यक्रम सम्पन्न गरिएको बताए । पर्यटकहरूलाई एड्भेञ्चर महसुस गराउने उद्देश्य पूरा भएको बताउँदै उनले यस कार्यक्रमले शैलुङको पर्यटन प्रवर्द्धन गर्न निकै ठूलो भूमिका खेलेको उल्लेख गरे ।

कार्यक्रम अवधिभर स्थानीय उत्पादनलाई प्रवर्द्धन गरिएको भन्दै उनले भने,’लोकल खाना र लोकल ठाउँको प्रवर्द्धन गर्ने प्रयास सफल भयो । ‘स्पार्क एड्भेञ्चरको टोलीलाई स्वागत गर्न दोलखा र रामेछापका स्थानीय सरकार र तथा बागमती  प्रदेश सरकारका प्रतिनिधिहरू समेत सहभागी भएका थिए ।

करिब ५ घण्टा लगाएर शैलुङ आसपासबाट स्व स्फूर्त पुगेका स्थानीयले विभिन्न स्थानीय झाँकी, सांस्कृतिक नृत्य लगायतको प्रस्तुति दिएका थिए । सो कार्यक्रममा हजारौंको स्वतःस्फूर्त रूपमा सहभागी भएको भट्टराईले जानकारी दिए । स्पार्क कारका अनुसारका यस किसिमको कार्यक्रम नेपालमै पहिलोपटक भएको हो ।

आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यस किसिमको कार्यक्रम आयोजना भई रहनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । ‘स्वर्गको टुक्रा नै यही हो’ भन्ने भान भएको एड्भेञ्चरमा सहभागी भएकाहरूले बताए ।

कार्यक्रममा सहभागी क्याप्टेन विजय लामाले यस किसिमको एड्भेञ्चर कार्यक्रमले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्ने बताए । उनले स्पार्क कारको यस किसिमको काम आफैँमा साहसिक भएको समेत सुनाए ।

क्याप्टेन लामाले भने,’साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्षरूपमा स्थलगत अवलोकन गरेँ । यस ठाउँका कारण स्थानीयको भविष्य उज्ज्वल बन्ने सम्भावना देखेँ ।’उनले शैलुङ सुनको कचौरा भएको र यसलाई स्थानीय समुदाय, जनप्रतिनिधि तथा समग्र मुलुकले चिन्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममै सहभागी भएका अध्यात्म र प्रकृतिसँग रमाउने एक्सन स्टार निखिल उप्रेतीले आफू भगवान् बुद्धले टेकेको भूमिमा आउँदा निकै आनन्दित भएको बताए ।लोक गायक प्रेमराजा महतले यस किसिमको कार्यक्रमले मुलुकको पर्यटन प्रवर्द्धन भई आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,’स्पार्क कारको यस किसिमको कार्यक्रमले निरन्तरता पाउनुपर्छ । ‘कार्यक्रममा मोटिभेसनल स्पिकर रविन कटुवालले  रमाइलो तरिकाले कार्यक्रम सञ्चालन तथा निर्देशन गरेका थिए ।

सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्यटकीय क्षेत्र हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ हो  । प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको छ ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार अवलोकन गरेर सुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौंरी गोठलाई केन्द्रित गर्दै आयोजना गरिएको हो ।

यस किसिमको कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले बताए । ‘नेपाल चिनाउने यस किसिमको अभियानलाई हामीले निरन्तरता दिनेछौँ,’ उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved