सुर्खेत। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमति पत्र ट्रायल पास गरेको तीन दिनभित्र दिने व्यवस्था लागू गर्न लागिएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा सवारी चालक अनुमतिका लागि ट्रायल दिएको तीन दिनभित्र सेवाग्राहीले पाउने मन्त्री ज्वालाको दाबी गरेका हुन् ।
अहिले पनि सवारीचालक अनुमति पत्रका लागि परीक्षा पास गरेका ११ लाख जतिले स्मार्ट लाइसेन्स पाउन नसकेको मन्त्री ज्वालाले बताए । ‘यो समस्या समाधानको लागि डिजीको व्यवस्था गरेका छौँ, आईटी निर्देशक पनि ल्याइसकेका छौँ ।’ उनले भने,‘ट्रायल पास गरेको तीन दिनभित्र लाइसेन्स हात पर्नेगरी काम अघि बढाएकोे छ ।’
यातायात क्षेत्रमा बिचौलियाको बिगबिगी अन्त्य गर्न अनलाइन प्रणाली सुरु गरिसकेको मन्त्री ज्वालाले बताए । ‘एक महिनाभित्र देशैभरि अनलाइन प्रणाली कार्यान्वयनमा आउनेछ ।’ उनले भने,‘हरेक क्षेत्रका बिचौलियाको अन्त्य नगरी देशमा समृद्धि आउँदैन ।’
आफूहरूले गरेको कामको नतिजा देखिन थालेको मन्त्री ज्वालाले बताए । ‘तत्काल सडक ऐन ल्याउने र सडक वर्गीकरण गरिनेछ ।’ उनले भने,‘केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुन स्तरको तथा कति बजेटसम्मको सडकको काम गर्ने भन्नेबारे स्पष्ट वर्गीकरण गरिनेछ ।’सडक वर्गीकरणका लागि कार्यदलले प्रतिवेदन दिइसकेको मन्त्री ज्वालाको बताए ।
असोज ३ गते संविधान दिवसको अवसर पारेर धूलो, हिलो र जामरहित राजधानी बनाउनका लागि महत्त्वपूर्ण कार्यक्रम सुरु गर्न लागेको मन्त्री ज्वालाले बताए। ‘राजधानी काठमाडौंमा द्रुत बस सेवा सञ्चालन गर्ने तयारी छ ।’ उनले भने,‘पहिलो चरणमा रत्नपार्कदेखि सूर्यविनायकसम्म बिहान २ घण्टा र बेलुकी २ घण्टा द्रुत बस सेवा सञ्चालन हुनेछ ।’
द्रुत बस सेवामा जोडिएका गाडी मात्रै सञ्चालनका लागि छुट्टै सडक लेनको व्यवस्था हुने र यसले जाम हुने र निकै छोटो समयमा यात्रुहरू गन्तव्यमा पुग्न सक्ने मन्त्री ज्वालाको बताए ।
Facebook Comment
Comment