एचआईभी/एड्स अन्त्य गर्ने लक्ष्यमा सरकार असफल

हाल नेपालमा ८३ प्रतिशत संक्रमित मात्र पहिचान भएका छन्। त्यसमध्ये ८३ प्रतिशतले नै एन्टिरेट्रोभाइरल उपचार पाइरहेका छन् भने ३१ प्रतिशतमा भाइरल भार नगन्य अवस्थामा छ।

नेपालभ्युज

एचआईभी/एड्स अन्त्य गर्ने लक्ष्यमा सरकार असफल

काठमाडौं। एचआईभी/एड्स महामारी नियन्त्रण गर्ने सम्बन्धमा सरकार आफ्नै लक्ष्य पूरा गर्न असफल भएको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार शाहले सरकारको असफलता जानकारी गराएका हुन्।

सरकारले यस्तो लक्ष्य राखेको थियो-

– संक्रमित ९० प्रतिशत व्यक्तिले आफूमा संक्रमण भएको थाहा पाउने।

– संक्रमितमध्ये ९० प्रतिशतलाई उपचारको पहुँचमा ल्याउने।

– संक्रमितको शरीरमा भाइरसको भार ९० प्रतिशतले घटाउने।

डा. शाहले दिएको जानकारीअनुसार हाल नेपालमा ८३ प्रतिशत संक्रमित मात्र पहिचान भएका छन्। त्यसमध्ये ८३ प्रतिशतले नै एन्टिरेट्रोभाइरल उपचार पाइरहेका छन् भने ३१ प्रतिशतमा भाइरल भार नगन्य अवस्थामा छ।

सन् २०२० मा मात्रै ६३६ जनाको मृत्यु एड्सको कारणले भएको अनुमान गरिएको छ। त्यो २०१० को तुलनामा ४५ प्रतिशतले कम हो।

“जुलाई सन् २०२१ सम्म नेपालमा २० हजार ८८३ संक्रमितहरूले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन्”, डा शाह भन्छन्, “कुल एचआईभी संक्रमितमध्ये ६९ प्रतिशत मात्र एआरभीको पहुँचमा छन्।”

नेपालमा एचआईभी/एड्सको अवस्था

२०२० मा ७५४ जना एचआईभीको नयाँ संक्रमित थपिएको अनुमान गरिएको केन्द्रको तथ्यांक छ। अहिले नयाँ संक्रमितसहित नेपालमा ३० हजार ३०० जनामा एचआईभी संक्रमण भएको अनुमान गरिएको डा. शाह बताउँछन्।

“२०१० को तुलनामा संक्रमितको संख्या ६३ प्रतिशतले घटेको हो”, उनी भन्छन्, “वयस्क जनसंख्याको ०.१३ प्रतिशत संक्रमण प्रिभ्यालेन्स दर रहेको छ।”

२०२० मा ८० जना नयाँ संक्रमित बालबालिका थपिएको अनुमान गरिएको, जुन तथ्यांक २०१० को तुलनामा ६३ प्रतिशतले घटेको उनी बताउँछन्।

सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिंगी यौनकर्मीहरूमा संकमणदर अरू जोखिम समूहभन्दा उच्च हुने डा. शाह बताउँछन्।

२०२० मा सम्पन्न सर्वेक्षण अनुसार नेपालमा सूईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरूमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको उनले जानकारी दिए। त्यस्तै, २०१७ मा भएका सर्वेक्षणमा महिला यौनकर्मीमा २२ प्रतिशत र पुरुष समलिंगीहरूमा ६२ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ।

सरकारको लक्ष्य

२०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न सरकारले विभिन्न योजना बनाएको छ। ९५ प्रतिशत एचआईभी संक्रमितले आफूमा एचआईभी संक्रमण भएको थाहा पाउने, थाहा पाएकामध्ये ९५ प्रतिशतलाई उपचारको पहुँचमा ल्याउने  र औषधि खाएकामध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून पार्ने रणनीतिअनुसार काम भइरहेको डा. शाहले जानकारी दिए।

तर यी लक्ष्य चुनौतीपूर्ण भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटा बताउँछिन। भन्छिन्, “एआरभी औषधि पहुँचमा भएका सबै संक्रमितको भाइरल लोडको अवस्था परीक्षण गरेर उपचार योजनामा सहयोग पुर्‍याउनु अति आवश्यक छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved