‘ब्लकबस्टर’ अपेक्षा गरिएको शाहरुखको ‘जवान’ विश्वभर रिलिज, नेपालमा बिहानैदेखि हाउसफुल (भिडिओ)
बक्स अफिसमा आक्रामक ओपनिङ गरेको ‘जवान’ फिल्ममा यस्तो छ कहानी
जवानको कथामा लेडीआर्मी किन छन्, शाहरुख अर्थात् विक्रम राठोर किन देशको शत्रु बने ? विक्रमका छोरा आजादले के गर्छन्? यी प्रश्नको जवाफ पाउनको लागि फिल्म हल नै जानुपर्ने हुन्छ।
नेपालभ्युज
काठमाडौं। आर्मीको स्पेसल टास्क फोर्सका सिपाही हुन् विक्रम राठौर। तर, त्यही विक्रम राठौरले मुम्बईको मेट्रोट्रेन अपहरण गरेर सरकारसँग आफ्नो माग राख्छन्। विक्रम राठोर एक्लै होइनन् उनीसँग ६ युवती पनि छन्। जसले उनलाई यो अपराधमा सघाउँछन्।
विक्रम राठौरको अगाडि काली गायकवाड छन्। उनले देशका सबैभन्दा ठूला हतियार व्यापारीहरूलाई सामान बेच्छन्। उनले सेनाका सिपाहीहरूलाई बन्दुक आपूर्ति गर्छन्।
काली गायकवाड एक ठूला व्यापारी हुन्। विक्रम राठोरसँग उनको पुरानो शत्रुता छ। आजाद, विक्रम राठौरका छोरा हुन्। यी दुवै पात्रमा शाहरुख खान आफैँ देखिएका छन्। अर्थात् फिल्ममा शाहरुख डबल रोलमा देखिनेछन्।
अब जवानको कथामा लेडीआर्मी किन छन्, शाहरुख अर्थात् विक्रम राठोर किन देशको शत्रु बने ? विक्रमका छोरा आजादले के गर्छन्? यी प्रश्नको जवाफ पाउनको लागि फिल्महल जानुपर्ने हुन्छ।
यो कहानी बलिउड स्टारर शाहरुख खानको फिल्म जवानको हो। २०२३ को सुरुमा उनको फिल्म ‘पठान’ बक्स अफिसमा तहल्का मच्चाएको थियो।
000
झन्डै आधा वर्षपछि शाहरुख फेरि ‘जवान’ बनेर फर्किएका छन्। ‘पठान’को सफलतामा धेरैले ‘स्टार पावर’ भएको बताएका थिए। शाहरुख खानको जवान पनि एक मसालेदार फिल्म मानिएको छ।
शाहरुख खान, नयनतारा र विजय सेतुपति स्टारर यस फिल्मको माध्यमबाट साउथ निर्देशक एटलीले उत्कृष्ट फिल्म प्रस्तुत गरेका छन्।
‘जवान’ बिहीबारदेखि विश्वभर रिलिज भएको छ।
भिडिओ-
नेपालमा बिहानैदेखि यो फिल्मका शो हाउसफुल छन्। फिल्मले पहिलो सप्ताहान्त नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ।
यदि, तपाईं एक्सनले भरिपूर्ण मसाला चलचित्रहरू हेर्न मन पराउनुहुन्छ भने ‘जवान’ हेर्न समीक्षकहरूले सुझाव दिएका छन्। बिहीबार बिहान र दिउँसो नेपालका हलमा किङ खानको क्रेज देखिएको छ।
नेपाली मिडिया, सेलिब्रेटी र दर्शकले पनि आ–आफ्नै ढङ्गले सामाजिक सञ्जालमा फिल्मको समीक्षा गरिरहेका छन्। कतिपयले ‘पठान’भन्दा उत्कृष्ट भन्दैछन्। कतिपयले ‘ब्लकबस्टर’ भनिरहेका छन्।
फिल्मभर ट्विस्ट र टर्न
फिल्मको फस्टहाफको कुरा गरौँ, जुन निकै टाइट र धेरै आश्चर्यले भरिएको छ। फिल्ममा धेरै ट्विस्ट र टर्नहरू छन्। त्यसैले, कथामा कतै पनि बोर महसुस हुनेछैन।
फिल्मको प्रत्येक भागमा आश्चर्यहरू छन् जसले दर्शकलाई ‘अब के हुन्छ’ भन्ने उत्सुकता देखाउँदै लैजान्छ। फिल्म एउटा कथामा मात्रै चल्दैन।
सानो भागमा पनि धेरै कथाहरू छन्।
‘जवान’मा दीपिका पादुकोण र सञ्जय दत्तजस्ता सरप्राइज फ्याक्टर पनि छन्। सबैलाई पर्दामा हेर्न पाउँदा दर्शकलाई थप रमाइलो लाग्न सक्छ।
‘जवान’ को कमजोर पक्षको कुरा गर्ने हो भने त्यो यसको संगीत हो, जुन त्यति आकर्षक छैन। यो फिल्मका गीतहरूले दर्शकलाई तान्न सकेका छैनन्।
कस्ता आइरहेका छन् समीक्षा ?
बलिउड समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्श तथा उनी सम्पादक रहेको पोर्टल बलिउड हंगामाले ‘जवान’लाई ४.५ स्टार रेटिङ दिएको छ। फिल्मलाई ‘मेगा ब्लकबस्टर’ उल्लेख गर्दै आदर्शले पटकथा, एक्सन दृश्य, पार्श्व ध्वनि उत्कृष्ट रहेको बताएका छन्।
एट्ली र शाहरुखको सहकार्यलाई दर्शकले रुचाउने उनको बुझाइ छ। विजय सेतुपति, नयनतारा, दीपिका पादुकोण र सञ्जय दत्त पनि स्क्रिप्टमा फिट रहेको उनको भनाइ ।
पिंकभिल्लाले ‘जवान’लाई चार रेटिङ दिएको छ। यो पोर्टलका क्रिटिक हिमेश मन्कद लेख्छन्, ‘एट्लीको पटकथामा एक्सन, ड्रामा, इमोसन र स्केललाई समावेश गरिएको छ।
शाहरुखले यसअघि कहिल्यै नदेखिएजस्तो आजाद र विक्रम राठौरको वीर चरित्रमा अभिनय गरेका छन्। निश्चितरूपमा यो ब्लकबस्टर फिल्म हो।’
कोइमोई पोर्टलले बलिउडले वर्षौंसम्म दिलाउन नसकेको कामलाई दक्षिण भारतले शाहरुखलाई जवान दिएको भन्दै हेडलाइन राखेको छ। यो वेबसाइटले थ्री स्टार दिएको छ।
‘शाहरुखलाई उचित ट्रिब्युट दिने एट्लीको असाधारण तरिकाको लागि जवानलाई सधैँ सम्झिइनेछ,’ कोइमोईले लेखेको छ, ‘किनभने शाहरुख बलिउडका अन्तिम सुपरस्टार हुन्।’
इन्डियन एक्सप्रेसले जवानलाई ‘विशाल मास्टरपिस’ भन्दै प्रशंसा गरेको छ।
‘शाहरुख खानको अर्थपूर्ण र मनोरञ्जक मुक्का’ यो हिन्दुस्तान टाइम्सको हेडलाइन हो।
एट्लीले आफ्नो हिन्दी निर्देशकीय डेब्युमा दर्शकलाई निराश नगर्ने कुरा जवानले सुनिश्चित गर्ने यो अखबारको विश्लेषण छ।
हिन्दुस्तान टाइम्सकी समीक्षक मोनिका रावल लेख्छिन्, ‘किनकि एट्लीले व्यावसायिक सिनेमाका सबै तत्वलाई एक विशाल मनोरञ्जनकर्ता निर्माण गर्नका लागि मिश्रण गरेका छन्।’
Facebook Comment
Comment