पुटिनलाई भेट्न उत्तर कोरियाली नेता किम यसै महिना रुस जाँदै

नेपालभ्युज

पुटिनलाई भेट्न उत्तर कोरियाली नेता किम यसै महिना रुस जाँदै

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिना राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुसको भ्रमण गर्ने योजना बनाएको खुलेको छ ।

एक अमेरिकी अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार किम यसै महिनाको अन्तिमतिर रुस जान लागेका हुन् । ह्वाइट हाउसले दुई देशबीचको हतियार वार्ता “सक्रिय रूपमा अगाडि बढिरहेको” भन्ने नयाँ जानकारी पाएको दाबी गरेको छ ।

दुई नेताबीचको भेटमा उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल गर्ने खबरमा दाबी गरिएको छ ।  यस विषयमा उत्तर कोरिया वा रुसबाट अन्य अमेरिकी सञ्चारमाध्यमहरूले खासै टिप्पणी गरेका छैनन् ।

किमले यसअघि प्रायः सशस्त्र रेलबाट यात्रा गर्ने  गरेकोमा यसपटक के गर्छन् भन्ने खुलेको छैन ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसका रक्षामन्त्री सर्गेई शोइगुको उत्तर कोरियाको भर्खरैको भ्रमणका क्रममा रुसलाई हतियार बेच्न प्योङयाङलाई मनाउन खोजेको बताए।

उनका अनुसार उत्तर कोरियाले आफ्नो स्याटेलाइट र आणविक पनडुब्बी कार्यक्रममा सहयोग गर्न मस्कोबाट उन्नत प्रविधि खोजिरहेको हुन सक्छ।

कोविड महामारीपछि किमले विदेशी पाहुनाका लागि देशको ढोका खोलेको यो पहिलो पटक थियो । न्यूयोर्क टाइम्सका अनुसार किम र पुटिनबीचको भेट रुसको पूर्वी तटमा रहेको भ्लादिभोस्तोक सहरमा हुनसक्छ ।

प्योङयाङ र मस्को दुवैले यसअघि उत्तर कोरियाले रुसलाई युक्रेनको युद्धमा प्रयोग गर्न हतियार उपलब्ध गराएको कुरा अस्वीकार गर्दै आएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved