काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत शनिबार पाँचैवर्ष आफैँ प्रधानमन्त्री हुनसक्ने सम्भावना सुनाए । जबकि, गठबन्धनभित्र पालै-पालो सरकारको नेतृत्व गर्ने सहमति बनेको छ भनेर दाबी गरिन्छ । यो दाबी गठबन्धन दलकै नेताहरूको हो ।
उनीहरूको दाबीअनुसार प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले २/२ वर्ष सरकारको नेतृत्व गर्नेछन्, जहाँ चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् । र, बीचको १ वर्ष नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नेछन् ।
तर, यही सहमतिविरुद्ध प्रधानमन्त्री प्रचण्डले किन त्यस्तो अभिव्यक्ति दिए ? यसका आ-आफ्नै अर्थ्याइ हुनसक्लान् । राजनीतिक विश्लेषक चन्द्रकिशोरको अर्थ्याइचाहिँ यस्तो छ— भोलि या पर्सि अथवा केही समयपछि म हट्दैछु भन्दाखेरि बाहिर राम्रो सन्देश जाँदैन, त्यसैले उहाँले यो सरकार मेरै नेतृत्वमा निरन्तर अगाडि जान्छ भनेर भन्नैपर्छ । हट्दैछु भन्न पनि मिल्दैन ।
तर, माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको अभिव्यक्ति छु मतलब ! प्रधानमन्त्री को बन्छ छु मतलब !’ आफ्नो अभिव्यक्तिमा उनी यही दर्साउँछन् र आफ्नै अभिव्यक्तिलाई थप परपुष्टि गर्न खोज्छन् ।

आफू एकपटक पनि रहरले नभइ करले प्रधानमन्त्री बनेको सुनाउँछन् उनी । “म एकपटक प्रधानमन्त्री भएँ । त्यसबेला पनि गिरिजाप्रसाद कोइरालाले बोलाएर मुलुक तपाईंले चलाउनुपर्छ, अहिलेको समस्याको चुनौती तपाईंले मात्रै सामना गर्न सक्नुहुन्छ, तपाईंमाथि मेरो पूर्ण विश्वास छ, मेरो पार्टीको समर्थन तपाईंलाई हुन्छ, अरु पार्टीको विश्वास पाउने प्रयास तपाईंले गर्नुस् भनेपछि म प्रधानमन्त्री बनेको हुँ, म रहरले प्रधानमन्त्री बनेको हुँ ?,” उनी प्रतिप्रश्न तेर्स्याउँछन् ।
यसपछि पूर्वसहमतिअनुसार तपाईं १ वर्ष प्रधानमन्त्री बन्दै हुनुहुन्छ होइन र ? भनेर प्रश्न गर्न बाध्य भइयो । प्रश्नलाई ‘बेमौसमको बाजा’को संज्ञा दिँदै उनी भन्छन्— म पद र पैसाका लागि हिरिक्क हुने मान्छे होइन । जो पद र पैसाका लागि हिरिक्कै हुन्छन्, तिनीहरूलाई सोध्नुस् यो प्रश्न । के म प्रधानमन्त्री भइनँ भने आकाश खस्छ, सबै प्रधानमन्त्री हुन पाइन्छ ?
नभए अहिलेको मौसमचाहिँ के हो ? माधवकुमार नेपालको जवाफ छ— अहिलेको मौसम पुष्पकमल दाहाज प्रचण्डजी प्रधानमन्त्री भएको मौसम हो, उहाँले राम्रो काम गरिरहनुभएको मौसम हो । सरकारले राम्रो काम गर्न खोजेको छ । सबै मिलेर त्यसलाई सफल बनाउने हो, यही हो अहिलेको मौसम ।
जे होस्— उनी प्रधानमन्त्री पदसँग आफ्नो कुनै लगाव नभएको पुष्टि गर्न खोज्छन् ।
पाँचै वर्ष प्रधानमन्त्री बन्छु किन भने प्रचण्डले ?
यता चुनावी सरकारको नेतृत्व गर्ने भनिएका शेरबहादुर देउवा भने माधवकुमार नेपालकै भाषामा भन्दाखेरि प्रधानमन्त्री पदका लागि ‘हिरिक्कै’ देखिन्छन् । उनलाई पनि बहालवाला प्रधानमन्त्री प्रचण्डलाई झैँ दुविधा छ; आफू प्रधानमन्त्री बन्ने बेलासम्म गठबन्धन टिकाउने कि बीचमा केही खेलहरू खेल्ने !
यसको निर्धारण नक्कली शरणार्थी प्रकरणमा हुने अनुसन्धान प्रक्रियाले पनि गर्ने माओवादी नेताहरूको बुझाइ छ । माओवादी नेताहरू नक्कली शरणार्थी प्रकरणमा देउवानिकट मान्छेहरू तानिए भने गठबन्धन भत्किन सक्ने आकलन गर्छन् । तर, जे होस् प्रधानमन्त्री पदसँग देउवाको ‘कन्सर्न’ भने कम देखिँदैन ।

कांग्रेसका दोस्रो तहका नेताहरू तथा खासगरी पार्टीको संस्थापनइतर पक्षीय नेताहरूले प्रचण्ड नेतृत्वको सरकारमाथि प्रश्नै-प्रश्न ठड्याइरहेका छन् । कतिपय नेताहरूले त प्रधानमन्त्री प्रचण्डले मात्रै नभइ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत हटाइहाल्नुपर्ने धारणा पार्टी कमिटी बैठकहरूमा राख्न थालेका छन्, प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठ क्रमश: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन् ।
तर, नेताहरूको धारणामा सभापति देउवा भने मौनप्राय: बस्छन् यद्यपि उनी आफ्ना विश्वासपात्र बालकृष्ण खाण पक्राउ गरेकोप्रति भने रुष्ट नै छन् । हुन त यसअघि बसेको केन्द्रीय समिति बैठकमै पनि यसका ‘पटाक्षेप’हरू देखिएका हुन् । त्यहाँ कतिपय केन्द्रीय सदस्यहरूले यसै भनेका थिए, उनीहरूलाई प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको राजीनामा चाहिएको थियो ।
यसपछि केही दिनअगाडि संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री प्रचण्डलाई ‘अब फरक किसिमको चुनौतीको सामना गर्न तयार हुनुस्’ भनेपछि कांग्रेसभित्रको गडबढीबारे धेर-थोर जानकारी सबैलाई हुने नै भयो, नकि प्रधानमन्त्री प्रचण्डलाई ।
जे होस्— प्रधानमन्त्री प्रचण्डले पाँचैवर्ष आफैँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताइरहँदा माधवकुमार र शेरबहादुरलाई एउटै कुरा लागेकोचाहिँ नहुँदो हो ।
Facebook Comment
Comment