काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार ढाल्ने प्रयास भइरहेको दोहोर्याइरहन्छन् । शनिबार आफ्नो दल नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान’ को उद्घाटन गर्दै पनि यही दोहोर्याए— सरकार ढाल्ने प्रयास भइरहेको छ ।
त्यसअघि बिहीबार मात्रै सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा पनि उनले त्यही बताएका थिए । सरकार ढाल्ने खेल सुरू भएको भन्दै उनले त्यसका विरुद्ध लाखौं जनता सडकमा उतार्ने चेतावनीसमेत दिएका थिए ।
तर, प्रचण्ड अर्कोतिर आफैँ पाँचैवर्ष प्रधानमन्त्री हुनसक्ने पनि बताउँछन् । “अहिले आठ महिना भयो, हट्न परेको छैन । मलाई लाग्छ, सायद पाँचैवर्ष हट्न पर्दैनजस्तो देख्दै छु । जनताको साथ भयो भने यो गठबन्धन पाँचै वर्ष चल्छ,” शनिबार उनले भने ।
त्यसो त पाँच वर्षभित्र सत्ता साझेदार दलहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि पालै-पालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ । तर, पनि प्रचण्ड किन पाँचैवर्ष आफैँ प्रधानमन्त्री बन्ने बताउँछन् ?
राजनीतिक विश्लेषक चन्द्रकिशोरको विश्लेषण छ— म केही दिनपछि हट्दैछु भन्दाखेरि बाहिर राम्रो सन्देश नजाने हुनाले उहाँले यसो भन्नुभएको हुनसक्छ । हट्दैछु भन्नु पनि हुँदैन । त्यसका अनेकानेक अर्थ हुन्छन् ।
त्यसबाहेक राजनीतिक कारण छैन ? भन्ने नेपालभ्यूजको जिज्ञासामा विश्लेषक चन्द्रकिशोर थप्छन्, “सबै दलहरूका आ-आफ्ना स्वार्थ हुन्छन् । त्यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिका दबाब र प्रभाव पनि हुने नै भए । ती कुराहरू आ-आफ्नै ठाउँमा रहन्छन् । तर, मलाई के लाग्छ भने गठबन्धन भएको सहमति नेताहरूबाट पालना हुने छ ।”

उसो त कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकारको विकल्पबारे आन्तरिकरूपमा छलफल हुने गरेको बताइन्छ । देउवानिकट नेता मीनबहादुर विश्वकर्मा भन्छन्— अहिल्यै सरकारको विकल्प खोज्नेबारे कांग्रेसले सोचेको छैन । तर, सरकारले यसभन्दा फरक काम गर्न सकेन, भ्रष्टाचारजस्तो जघन्य अपराध अनुसन्धानमा पनि आग्रह-पूर्वाग्रह हेर्यो भने विकल्पबारे सोच्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा हामीले सरकारका कदमप्रति प्रश्न र आलोचना उठाउनचाहिँ थालेका हौँ । यसले जहाँ पनि पुर्याउन सक्छ ।
सरकार परिवर्तनको कसरत : राष्ट्रिय सहमतिका लागि कि प्रचण्डको विकल्प खोजी ?
हुन त कांग्रेस सभापति देउवा नै पनि प्रचण्ड नेतृत्वको सरकारप्रति त्यत्ति सकारात्मक छैनन् । नक्कली शरणार्थी प्रकरणयता उनी सरकारसँग खास सन्तुष्ट छैनन् । यस्तो बेलामा कांग्रेसभित्र भइरहेको बहसलाई बुझेरै प्रधानमन्त्री प्रचण्डले ‘पाँचैवर्ष प्रधानमन्त्री हुनसक्छु’ भन्ने अभिव्यक्ति दिएको अर्का एक राजनीतिक विश्लेषक बताउँछन् ।
अरु दलहरूलाई देखाएर साथमा रहेको दललाई तर्साउने प्रचण्डको पुरानै बानी रहेको ती विश्लेषक बताउँछन् । “उहाँ (प्रधानमन्त्री प्रचण्ड) राजनीति गर्न जान्यै मान्छे हो । बाहिर रहेका दललाई देखाएर आफूसँग रहेको दललाई तर्साउने बानी उहाँको पुरानै हो । उहाँको अहिलेको सूत्र पनि त्यही हुनसक्छ,” ती विश्लेषकले भने ।
माओवादी नेताहरू भने ‘जे पनि हुनसक्ने’ बताउँछन् । सरकारको भविष्य र नेतृत्वबारे नेपालभ्यूजले राखेको जिज्ञासामा माओवादीका एक नेताले नाम नलेख्न भन्दै केही सम्भावना स-विस्तार बताए ।
ती नेताले देखाएको पहिलो सम्भावनाअनुसार यो गठबन्धन नेतृत्वको सरकार पाँचै वर्ष चल्नेछ । त्यसका लागि पूर्व सहमतिअनुसार शीर्षस्थ नेताहरूले सरकारको नेतृत्व गर्न सक्नेछन् । “शेरबहादुरजी आफू प्रधानमन्त्री बन्ने बेलासम्म कुनै पनि हालतमा यो गठबन्धन टिकाउन चाहनुहुन्छ, त्यस अर्थमा यो गठबन्धन पाँचैवर्ष टिक्नसक्छ,” ती नेता भन्छन् ।
तर, नक्कली शरणार्थी प्रकरणले पनि यो सरकारको नेतृत्व र भविष्य बदल्नसक्ने आशङ्का गर्छन् ती नेता । नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान गर्दै जाँदा पत्नी आरजू राणा देउवातिर सोझियो भने गठबन्धनबाट कांग्रेस बाहिरन सक्ने बुझाइ ती नेताको छ । “त्यसले पनि गठबन्धनको भविष्यसँगै सरकारको नेतृत्व कसले गर्छ भन्ने निर्धारण गर्नसक्छ,” ती नेताको भनाइ छ ।
तेस्रो सम्भावनामा ती नेता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति रहेको बताउँछन् । “राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिका कारण यो गठबन्धन भत्किन पनि सक्छ । र, नौलो कुरा हुनेछैन । नेपालमा दोहोरिरहने घटना हो यो । पछिल्लो समय पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू अझ बढी खेल्न थालेको हो कि भन्ने मेरो व्यक्तिगत मत छ,” ती नेताले भने ।
***
जसै कूटनीतिका कतिपय जानकार एवम् नेताहरू यसबीचमा पुन: ‘वामपन्थी’ सरकार बन्नेसमेत आकलन गर्छन् । उत्तरबाट यही सन्देश मात्रै नभइ दबाबसमेत आइरहेको वाम-वृत्तमा चर्चा छ ।
हुन पनि चीनले पालै-पालो नेपालका ठूला कम्युनिष्ट पार्टीलाई बोलाउँदै ‘मिल्न’ सुझाव दिने गरेको छ । यसअघि जेठ २ गते पूर्वसभामुखसमेत रहेका सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन पुगेको थियो ।
२ हप्ता लामो भ्रमण सकेर स्वदेश फर्किएका सापकोटाले विमानस्थलमा पत्रकारहरूसँग चीनले वामपन्थी दलबीच पुन:एकता गर्न सुझाव दिएको सुनाए ।
यसपछि शनिबार मात्रै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको नेतृत्वमा २२ सदस्यीय टोली चीन लागेको छ । १२ दिनपछि फर्किने टोलीलाई चीनले के सन्देश पठाउँछ, हेर्न बाँकी छ ।
त्यसो त यसअघि भएको वाम एकतासँग चीन खुसी थियो । नेपालका दुई ठूला वामपन्थी दल एमाले-माओवादीबीच २०७४ सालमा एकता भएर बनेको नेकपासँग चीनको छुट्टै सद्भाव रहेको कूटनीतिज्ञले विभिन्न पुस्तकहरूमा उल्लेख गरेका छन् । परन्तु, नेकपालाई सर्वोच्च अदालतले दुईचिरा बनाइदियो । यसपछि अहिले तत्कालीन नेकपा एमाले र माओवादीकै अस्थित्वमा सक्रिय छन् ।
अर्कातिर पाँचै वर्ष प्रधानमन्त्री बन्नका लागि प्रचण्डले नयाँ गठबन्धन बनाउन सक्ने सम्भावना पनि छ । फेरि एमालेसँग मिलेर प्रधानमन्त्रीमा टिकिरहने उनको चाहना हुनसक्छ । तर, त्यसका लागि एमालेलाई विश्वासमा लिनुपर्नेछ ।
विद्या भण्डारीलाई एमाले अध्यक्ष बनाएमा सहकार्य हुनसक्ने संकेत प्रचण्डले एमालेका दोस्रो तहका नेताहरूलाई पठाइसकेका छन् । त्यही संकेतका कारण एमालेभित्र पनि अहिले यो विषयमा निकै बहस चलिरहेको छ । अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको बीचमै अविश्वास बाक्लिएको चर्चा पनि भइरहेको छ ।

यदि एमालेसँग सहमति कायम गर्नसके प्रचण्ड पाँचैवर्ष प्रधानमन्त्री बन्ने सम्भावना भने छ । किनकि त्यस्तो अवस्थामा भण्डारी राष्ट्रपति बनिसकेकाले प्रधानमन्त्री बन्न मिल्ने छैन । एमाले र माओवादीबीच अब हुने सहमति पार्टी एकताकै तहमा पुग्ने भएकाले पनि कतिपय नेताले कसरत गरिरहेका छन् ।
एकातिर उत्तरी छिमेकीको दबाब र अर्कातिर पाँचैवर्ष प्रधानमन्त्री बन्ने प्रचण्ड चाहनाबीच मेल भएमा नेपालको राजनीतिक समीकरण परिवर्तन हुन बेर नलाग्ने विश्लेषकहरू बताउँछन् । प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणले धेरै कुरा निर्धारण गर्ने अनुमान उनीहरूबो छ ।
Facebook Comment
Comment