‘मिसन- २०८४’ मा होमियो माओवादी, भोलिदेखि तीनमहिने विशेष अभियान

नेपालभ्युज

‘मिसन- २०८४’ मा होमियो माओवादी, भोलिदेखि तीनमहिने विशेष अभियान

काठमाडौं । पछिल्लो समय जनतासँग टाढिएको निष्कर्ष निकाल्दै नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी’ कार्यक्रम सञ्चालन गर्दैछ । शुक्रबार पार्टी मुख्यालय पेरिस डाँडामा अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताभन्दा ठूलो शक्ति कोही नभएकाले पुनः एकचोटि जनतामाझ जान लागेको बताएका हुन् ।

पछिल्लो समय जनतासँगको सम्बन्ध टाढिएकै कारण क्रमशः माओवादी कामजोर भएको निष्कर्ष निकाल्दै तीनमहिने विशेष अभियान सञ्चालन गर्न लागेको प्रवक्ता सापकोटाले बताए ।

विगतमा जनताकै साथ सहयोगमा देशका ठूला परिवर्तन सम्भव भएको सम्झँदै उनले तीनमहिने कार्यक्रमबारे जानकारी गराएका छन् । २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन लागिएको सापकोटाले बताए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियान सुरु भएको घोषणा गर्ने कार्यक्रम छ ।

माओवादीले अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’ गर्ने उद्देश्य राखेको छ । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धनलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने सापकोटाले बताए ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । पार्टी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कामय तथा सेवा प्रवाहमा जनअपेक्षाअनुसार काम गर्दै आएको पार्टीले जनाएको छ । सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको सो पार्टीको दाबी छ ।

अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जनवर्गीय सङ्गठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ । माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved