काठमाडौं । सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले गरिरहेको छ । प्रधानमन्त्री छन्—पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
२०७९ पुस १० गते बनेको सरकारमा नेकपा (एमाले) प्रमुख साझेदार थियो भने अहिले नेपाली कांग्रेस छ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेस त्यही पार्टी हो, जो पुसमा एमाले-माओवादीको सरकार बन्नुअघि कुनै पनि हालतमा प्रधानमन्त्री नछाड्ने अडानमा थियो ।
यसपछि राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय घर्किनै लाग्दा प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे र प्रधानमन्त्री भए । एमालेको प्रमुख समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले केही समयमै सत्तारूढ गठबन्धन फेरे । त्यसपछि प्रमुख सत्ता साझेदार दल एमाले विपक्षी ‘बेञ्च’ मा पुग्यो भने कांग्रेस सत्ताको मुख्य साझेदारका रुपमा अगाडि आयो ।
अहिले ९ मन्त्रालयसहित सरकारमा रहेको कांग्रेसभित्र सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र र त्यसका नेता/नेतृत्वमाथि बढी नै टिका-टिप्पणी हुन थालेको छ । कांग्रेसका एकथरी नेताहरू प्रधानमन्त्री प्रचण्डले मात्रै नभइ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत राजीनामा दिनुपर्ने बताउँछन्, जो माओवादीकै वरिष्ठ उपाध्यक्ष हुन् ।
यसअघि झन्डै डेढ वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा समेत कतिपयले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका थिए । तर, त्यसबेला संस्थापन पक्षका नेताहरूले त्यसलाई आधिकारिकरूपमा पार्टीको धारणा नमान्न र ठूलोरूपमा नलिन आग्रह गर्थे ।
तर, अहिले भने त्यसबेला त्यसरी आग्रह गर्ने नेताहरू नै सरकारसँग असन्तुष्ट छन् । सभापति देउवा नै सरकारसँग असन्तुष्ट रहेको नेताहरू बताउँछन् । कांग्रेसका एक नेता नेपालभ्यूजसँग भन्छन्— उहाँ (शेरबहादुर देउवा) नै सरकारसँग सन्तुष्ट हुनुहुन्न, त्यसका धेरै कारण छन् ।
त्यसो त देउवा खासगरी बालकृष्ण खाण पक्राउ परेयता सरकारसँग असन्तुष्ट छन् । नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाणको नाम आउनेबित्तिकै पक्राउ गरिएको तर, ९ किलो सुन प्रकरणमा कृष्णबहादुर महराको रिपोर्टसमेत आइसक्दा पनि पक्राउ नगरेको भन्दै सरकारसँग उनी असन्तुष्ट बनेका हुन् । यसअघि देउवाले यही विषय उल्लेख गर्दै ‘यो के हो ?’ भनेर गृहमन्त्रीलाई ठूलै स्वरमा सोधेका थिए।
ती नेताको भनाइलाई आधार मान्ने हो भने कांग्रेसभित्र सरकारको विकल्पबारे छलफल हुन थालेको छ । तर, प्रचण्ड भने प्रधानमन्त्री भइरहन चाहन्छन् । तेस्रोपटक प्रधानमन्त्री बनेका उनले पहिलो र दोस्रो कार्यकालभन्दा फरक काम गरेर देखाउने बताउने गरेका छन् । अगाडिको कार्यकालमा बिग्रिएको छवि र थाँती रहेका काम गर्ने दाबी गरेका उनले हिजोआज आफू प्रधानमन्त्री भइरहन आफ्नै मान्छेलाई ‘ब्याक’ गर्न थालेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादी केन्द्रले पाएको संसद्को पूर्वाधार विकास समिति संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिए । त्यसपछि अगाडि सभापति बन्ने भनिएका माओवादी सांसद माधव सापकोटा ‘सुबोध’ कै प्रस्तावमा राप्रपाका मकवानपुरे सांसद दीपकबहादुर सिंह पूर्वाधार विकास समितिका सभापति बनेका छन् ।
तपाईं किन पछि हट्नुभयो ? भन्ने नेपालभ्यूजको प्रश्नमा सुबोधले भने, “स्थायित्वका लागि म पछि हटेँ । सहमति गरेर अगाडि बढ्दा त्यसले राम्रै गर्छ भन्ने लाग्यो । त्यसैले मैले प्रस्तावककै भूमिका निभाएँ ।”
स्रोतकाअनुसार प्रधानमन्त्री प्रचण्डले नै ‘अहिलेलाई त्यो समिति राप्रपालाई दिउँ, तपाईंको व्यवस्थापन अन्त कहीँ गरूँला’ भनेपछि सुबोधले मञ्जुरीमा टाउको हल्लाएका थिए । भदौ ९ गते साँझ राप्रपा नेता बुद्धिमान तामाङ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार छिरेका थिए । भेटमा तामाङले समिति मागेको र त्यसमा केही सहमतिसहित समिति दिइएको स्रोतको भनाइ छ ।
जसै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार केही समय रहिरहे मात्रै प्राप्त उपलब्धिको रक्षा हुने बताउँदै आएका छन् । त्यसमा आफ्नो सधैँ साथ रहेको सुबोध बताउँछन् । जे होस्— माओवादीले संसद्को एउटा विषयगत समिति गुमाएको छ ।

त्यसअगाडि पनि प्रधानमन्त्री प्रचण्डले आफूमाथि राजनीतिक सङ्कट र खतरा नआओस् भनेर माओवादीकै कोटाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका अमनलाल मोदीलाई फिर्ता बोलाए । डा. चन्द्रकान्त राउत ऊर्फ सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उनले मोदीलाई राजीनामा गराए । अहिले जनमतको तर्फबाट अनिता देवी साह सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री बनेकी छन् ।
मोदीले पनि आफूले छाड्दा सरकारले स्थायित्व पाउँछ भने ठिकै छ भनेर राजीखुसी छाडिदिए । संसद्मा ६ सिट भएको जनमतलाई सरकारमा ल्याएपछि थप सङ्कट हटेको बुझाइमा छन् प्रधानमन्त्री प्रचण्ड । तर, आफ्नो शक्ति क्षय भइरहेको भने उनले खासै हिसाब गरेका छैनन् ।
यसरी हेर्दा माओवादीले आफू सत्तामा रहनका लागि आफ्नै शक्ति क्षय गरिरहेको छ । राजनीतिशास्त्री तथा विश्लेषक डा. लोकराज बरालको विश्लेषणलाई आधार मान्ने हो भने केही नयाँ गर्ने भनेर आएका प्रचण्डसँग त्यसका लागि हुटहुटी बाँकी रहेपनि गर्न सकिरहेका छैनन् । “आफू नटिकी काम गर्ने कुरै भएन, टिक्नका लागि यी सारा गर्नैपर्यो,” उनले भने, “यसले दीर्घकालीनरूपमा असर भने पार्नसक्छ ।” यद्यपि केही काम भने गर्न खोजेको बराल बताउँछन् ।
सरकार टिकाउने यस्तै चक्करमा प्रचण्डको कार्यकाल नै बित्ने र पार्टी झन् खुम्चने हो कि भन्ने चिन्ता माओवादीका समर्थक र शुभचिन्तकमा देखिन्छ ।
Facebook Comment
Comment