एजेन्सी। भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार लखनऊबाट तीर्थयात्री लिएर जाँदै गरेको उक्त रेलमा अचानक आगलागी भएको थियो । भारतीय अधिकारीका अनुसार रेलमा रहेका ५५ जनालाई भने सकुशल उद्धार गरिएको छ ।
अगस्ट १७ मा लखनऊबाट रामेश्वरको तीर्थयात्रामा निस्किएको उक्त टोलीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामी मन्दिरको दर्शन गरेको थियो । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्री चढेको रेलमा आगो लागेको हो ।
प्रत्यक्षदर्शीका अनुसार केही यात्रीले रेलभित्रै सिलिन्डर ग्यास प्रयोग गरेर चिया पकाइरहेका थिए । त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान अधिकारीको छ ।
यसैबीच, मृतकका परिवारलाई भारतीय रेल्वेले प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
Facebook Comment
Comment