काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभन्दा माथि जातको पहिचान हुन नसक्ने तर्क गरेका छन् । जातिको पहिचानका नाममा विद्वेष फैलिए देशकै अस्तित्व गुम्नसक्ने भन्दै अध्यक्ष ओलीले यस्तो तर्क गरेका हुन् ।
बिहीबार २९ औं विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पहिचानको मुद्दा पनि देशलाई केन्द्रमा राखेर उठाउनुपर्ने बताए ।
पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि हुनपर्ने उनको भनाइ छ ।
‘कुनैपनि हिसाबले हामीलाई जातका आधारमा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्देष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ’, उनले भने, ‘यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ । देशको विकास हुन्छ ।’
अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएकोले देशलाई धर्म निरपेक्ष बनाइएको बताए ।
उनले अन्य देशका तुलनामा नेपालमा आदिवासी, जनजाति र दलित समुदायले अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको पनि बताए ।
Facebook Comment
Comment