काठमाडौं। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाइले रोगको शल्यक्रिया सफल भएको छ ।
गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाइलेको ९ घण्टा लगाएर गरिएको शल्यकृया सफलतापूर्वक सम्पन्न भएको हो।
म्याग्दी बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो । उनलाई २० वर्षअघि नै हात्तीपाइलेको समस्या देखिएको थियो । प्रा.डा.श्रेष्ठले प्लास्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया भएको जानकारी दिए। उनले अप्रेसनका लागि ९ घण्टा समय लागेको बताए।
डा.श्रेष्ठले भने, ‘जो बिरामी हुनुहुन्छ । उहाँ ३५ वर्षे युवक हुनुहुन्छ । उहाँको हात्तीपाइलेको रोग करिब २० वर्षअघि नै सुरुवात भएको रहेछ । खुट्टाहरू धेरै नै सुन्निएको कारणले जटिल अवस्थामा पुगेको रहेछ । बेला-बेलामा खुट्टामा इन्फेक्सन हुने, घाउ हुने, गह्नाउने भएको थियो । विभिन्न ठाउँमा गएर उपचार गर्ने कोशिस गरी भारत गए पनि उपचार हुन नसकेपछि ग्रान्डी हस्पिटलमा आउनुभयो । हामीले प्लास्टिक सर्जरी विधिबाट खुट्टालाई जोगाउने हिसाबले अप्रेसन गरेका हौं । अप्रेसन गर्दा ठूला नशाहरू छुनेबित्तिकै रगत निस्किने भएकाले यो जटिल अप्रेसन थियो । लगभग ९ घण्टाको अप्रेसन गर्यौं ।
डा.श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा.समित शर्मा सहितको टोलीले ती युवकको शल्यक्रिया गरेका हुन्। अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. श्रेष्ठले बताए । युवकलाई बुधबार डिस्चार्ज गरिएको छ।
Facebook Comment
Comment