कीर्तिमानी आरोही हरिलाको सन्यास, नेपाल आइरहने बाचा

नेपालभ्युज

कीर्तिमानी आरोही हरिलाको सन्यास, नेपाल आइरहने बाचा

काठमाडौं, २० साउन । कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे) ले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै आज ‘सन्न्यास’को घोषणा गरिन् ।

पाकिस्तानमा रहेको ‘माउण्ट केटु’को सफल आरोहणसँगै नेपाली भूमिमा सन्न्यास लिनु उनका लागि सायद उपयुक्त समय पनि थियो ।

गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटुको आरोहणसँगै हरिला र शेर्पा गाइड तेन्जिन शेर्पाले कम समयमा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको कीर्तिमान कायम गरेका थिए । यसअघि यो कीर्तिमान निर्मल पूर्जाका नाममा थियो । पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा उक्त कीर्तिमान कायम गरेका थिए ।

सन्न्यास घोषणाका क्रममा हरिलाको बोलीमा नेपाल र नेपालीप्रतिको सम्मान र माया प्रष्ट झल्कन्थ्यो । शनिबार विहान पाकिस्तानबाट कतार एयरलाइन्सको विमानमार्फत काठमाडौँ ओर्लिएका हरिला र शेर्पालगायत आरोहीलाई प्रंशसकहरुले भव्य स्वागत गरेका थिए । उनिहरुलाई बाजासहित विमानस्थलबाट चावहिल र लैनचौर हुँदै भृकुटिमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो ।

‘केही समयका लागि म आठ हजार मिटर अग्लो हिमाल चढ्न पनि सक्छु भन्ने पनि लाग्दैछ तर मैले मेरो काम पूरा गरिसकेकी छु’, नेपाल पर्वतारोहण सङ्घले गरेको सम्मान कार्यक्रममा उनले भनिन, ‘सन्न्यासपछिको जीवन परिवारसँग बिताउने र नेपाल आइरहने बाचा गर्छु ।’

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने उनको अभियान गत अप्रिलमा चीनको सिसापाङ्गमा हिमाल आरोहणसँगै सुरु भएको थियो । उक्त लक्ष्य ९२औँ दिनमा माउण्ट केटुको आरोहणसँगै पूरा भएको छ ।

बयानब्बे दिनमै १४ वटा हिमाल चढ्न कति सहज भयो त ? सञ्चारकर्मीको जिज्ञाशामा हरिलाले भनिन, ‘हिमाल आरोहण सहज वा गाह्रो कस्तो हुन्छ भन्ने त्यहाँको मौसम र परिस्थितिले निर्धारण गर्छ, गत वर्ष हिमाल आरोहण सहज थियो भने यसवर्ष भने बाक्लो हिउँ परेकाले केही अप्ठ्यारो पनि भयो ।’

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, सिसपाङ्गमा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved