माओवादी बैठकमा लेखनाथका तीन सवाल !

नेपालभ्युज

माओवादी बैठकमा लेखनाथका तीन सवाल !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्यौपाने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग फरक मत राख्ने नेतामा मात्रै पर्दैनन्, पार्टीभित्रका वैचारिक नेतामध्ये पनि पर्छन् । उनले अध्यक्ष प्रचण्डले महाधिवेशन तथा पार्टी कमिटीका बैठकहरूमा प्रस्तुत गर्ने प्रतिवेदनहरूमाथि छुट्टै धारणा दर्ज गर्ने गरेका छन्, जसको पार्टीभित्र र बाहिरै पनि प्राय: राम्रै मत हो भनेर भनिन्छ ।

२०७८ पुसमा सम्पन्न पार्टीको ८औं राष्ट्रिय महाधिवेशनमा पनि उनले अध्यक्ष प्रचण्डका प्रतिवेदनमाथि फरक प्रस्ताव दर्ज गराएका थिए । गत बुधबारबाट जारी चौथो विस्तारित बैठकमा पनि उनले फरक धारणा राखेका छन्, जसको अधिकांश केन्द्रीय सदस्यहरूले समर्थन जनाएका छन् ।

यी हुन् न्यौपानेले राखेका सवालहरू—

१. विचार र व्यवहारमा एकरूपता भएन :

न्यौपानेले माओवादी केन्द्रको विचार र व्यवहारबीच एकरूपता नभएको टिप्पणी गरेका छन् । कम्युनिष्ट पार्टीको; त्यसमा पनि माओवादीहरूको विचार व्यवहारमा अभिव्यक्त हुनुपर्नेमा त्यसो हुन नसकिरहेको भनाइ उनको छ ।

बैठकमा आफूले राखेको विषय सुनाउँदै न्यौपानेले भने, “हाम्रो पहिलो समस्या यहीँनेर छ । विचार र व्यवहारबीच जब मेल खाँदैन, त्यसपछि केही पनि हुँदैन । हामी भन्ने एउटा र गर्ने अर्कै गरिरहेका छौँ । व्यवहारले विचारलाई परिस्कृत गर्नका लागि योगदान गर्नुपर्छ । माओवादीभित्र यो ‘साइकल’ भताभुङ्ग अवस्थामा छ ।”

यहीकारण माओवादी ओरालो लागिरहेको उनको विश्लेषण छ, भन्छन्— “अब माओवादी उकालो लाग्ने हो भने सबैभन्दा पहिले यो सुध्रिनुपर्छ, नत्र ओरालो लागेको माओवादी रोकिने छाँट देखिँदैन ।”

२. पुँजीवादी व्यवस्थाले समस्याहरूको नियन्त्रण गर्दैन :

न्यौपाने वर्तमान समयमा नेपालले अवलम्बन गरेको पुँजीवादी व्यवस्था नै भएको जिकिर गर्छन् । यसले समस्याहरूको पूरै हल र नियन्त्रण गर्न नसक्ने उनको विश्लेषण छ । “अहिले पनि हामी पुँजीवादी व्यवस्थामै छौँ । यसले समस्याहरूको समाधान दिँदैन, समस्याहरूको नियन्त्रण गर्न सक्दैन,” उनले भने ।

त्यसअघि उनले भने, “यसले भ्रष्टाचारको पूरै नियन्त्रण गर्न सक्दैन । विभेदहरूको पूरै अन्त्य गर्न सक्दैन । त्यसो हुँदा हामीले यसैलाई अन्तिम गन्तव्य मान्ने हो भने भ्रष्टाचार पूरै नियन्त्रण गर्न सक्दैनौँ । विभेदहरू निमिट्यान्न पार्न सक्दैनौँ । अन्तत: अवस्था ज्यूँका त्यूँ रहन्छ ।”

पुँजीवादको सीमा भनेकै विभेद भएको उनी बताउँछन् । “हामीले समस्याहरूको नियन्त्रण खोज्छौँ भने फरक तरिकाले सोच्न जरुरी छ । यसलाई मुख्य मुद्दा बनाएर अगाडि बढ्नेबेला हो यो,” उनले भने ।

३. माओवाद र संसदीय व्यवस्था कहीँ सँगै छैन :

न्यौपानेले बैठकमा माओवाद र संसदीय व्यवस्था कहीँ पनि सँगै नभएको दाबी गरेका छन् । नेपालको सन्दर्भमा यही भइरहेको र यसैले बिगारेको उनले बताए ।

“माओवाद र संसदीय व्यवस्था दुनियाँमा एकैठाउँ छैन । माओवाद अर्कै कामका लागि बनेको सिद्धान्त हो, जसलाई हामीले पनि एउटा अवधिमा प्रयोग गर्‍यौँ । हामीले माओवादी नाम राख्यौँ, माओवाद सिद्धान्तमा छौँ । तर, हामीले संसदीय व्यवस्था नै अवलम्बन गरिरहेका छौँ । यो सही भइरहेको छैन,” उनले भने ।

माओवादी सुधार्नका लागि यसबारे पनि गम्भीर हुन उनले पार्टी नेतृत्व र नेताहरूलाई आग्रह गरेका छन् ।

***

उनले आफूले उठाएका यी विषयहरूमाथि गम्भीररूपमा छलफल अगाडि बढ्नुपर्ने बताए । यी विषयहरूलाई निश्चित ठाउँ र बहससम्म नपुर्‍याएरसम्म माओवादीको यही हालत हुने भनाइ न्यौपानेको छ, भन्छन्— यो सैद्धान्तिक र वैचारिक लाइनबाट पनि अब बहसलाई अगाडि बढाउनुपर्छ ।

यसमा विधान महाधिवेशनमा अझ सशक्तरूपमा छलफल हुनुपर्ने माग न्यौपानेको छ । “यो केन्द्रीय कमिटीको बैठक हो । स्वाभाविकरूपमा यहाँ नीतिभन्दा बढी साङ्गठानिक कुरामा फोकस्ड हुनुपर्छ । तर, विधान महाधिवेशनले यसलाई बहसको विषय बनाउनुपर्छ भन्ने मेरो भनाइ छ,” उनले भने ।

माओवादी उकालो लगाउने हो भने यही बाटो रहेको भनाइ न्यौपानेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved