भरतपुरमा शनिबारे मेला सुरु

नेपालभ्युज

भरतपुरमा शनिबारे मेला सुरु

भरतपुर। उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी आजदेखि शनिबारे मेला सञ्चालन गरेको छ । मेलाको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले उद्घाटन गरिन् । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गरिएको हो ।

चितवन प्रदर्शनी केन्द्र परिसरमा मेलाको आयोजना गरिएको छ । अबदेखि हरेक शनिबार बिहान ६ देखि ११ बजेसम्म सोही ठाउँमा शनिबारे मेला आयोजना गरिने सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।

उनले भने, “स्थानीय तथा रैथाने कृषिजन्य उत्पादन, खाद्यान्न तथा परिकारहरुलाई समेत उत्पादन र बजारीकरणका माध्यमबाट उद्यमशीलतामा जोड्न र स्वरोजगार बनाउन मेलाको आयोजना गरिएको हो ।” मेलामा स्थानीय तहको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका प्रदर्शनी कक्ष रहेको उनले बताए । पहिलो दिन ४० कक्ष रहेका छन् ।

प्रदर्शनीमा स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकार, घरेलु हस्तकलाका सामान, स्वदेशमै उत्पादित ताजा फलफूल तथा तरकारी, चिउरी, तामा कुसुम न्युरो, लरकैया, मह, गिट्ठा, भ्याकुर, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारसहितका अन्य सामग्री राखिने छन् । आज पहिलो दिन सबै सामान भने आइनसकेको सङ्घले जनाएको छ ।

मेलास्थल आसपासमा निजी तथा सरकारी संस्थामा कार्यरत कर्मचारी, स्थानीय टोल तथा छिमेकी पालिकाका जनता मेलाको लक्षित समुदाय रहेको कँडेलले बताए ।

मेलामा राखिने विशेष परिकार तथा उत्पादन जिल्ला बाहिर पठाउनका लागिसमेत बिक्री गरिने लक्ष्य लिइएको उनले बताए । उत्पादक र उपभोक्तालाई एउटै छानामुनि प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन पाँच हजार हाराहारीले अनुगमन गर्ने लक्ष्य लिएको सङ्घले जनाएको छ ।

मेलालाई ‘फार्मदेखि किचनसम्म’ अवधारणाअनुसार उत्पादक र उपभोक्ताको मागबमोजिम आवश्यकताअनुसार परिस्कृत गर्दै लगिने कँडेलले बताए । मेलाको उद्घाटनपछि महानगर प्रमुख दाहालले यस्ता मेलाले कृषि र उद्योगको प्रवर्द्धनमा सहयोग पुग्ने बताइन् ।

स्टलको निरीक्षण गर्दै उनले कृषिजन्य र साना उद्योग प्रवद्र्धनका लागि महानगर सकारात्मक रहेको जनाउँदै गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गरिन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved