बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन, आयोजना निर्माणको प्रक्रिया अघि बढ्यो

नेपालभ्युज

बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन, आयोजना निर्माणको प्रक्रिया अघि बढ्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।

गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन्। फिल्ड कार्यालय उद्घाटनसँगै बूढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ।

आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री प्रचण्ड तथा गोरखा निर्वाचन क्षेत्र भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चासो राख्दै आएका थिए। चालु आर्थिक वर्षको बजेटमा समेत सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख छ। यससँगै बुधबार आयोजित कार्यक्रममा फिल्ड कार्यालय उद्घाटन गरिएको हो।

प्रधानमन्त्री प्रचण्डलगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत् गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए।

प्रधानमन्त्रीका साथमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि छन्। सँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि छन्।

धादिङ र गोरखाका सङ्घीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत छन्।

कुल १ हजार २ सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बुढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ। काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved