अमेरिकामा गोलाबारीका घटना झन् बढ्दै, यो वर्ष मात्रै ३५३ जनाको मृत्यु

नेपालभ्युज

अमेरिकामा गोलाबारीका घटना झन् बढ्दै, यो वर्ष मात्रै ३५३ जनाको मृत्यु

काठमाडौं । विश्वको शक्तिशाली राष्ट्र मानिने अमेरिकामा सामूहिक गोलीबारीका घटना तीव्र रुपमा बढेका छन् । सन २०२३ को सुरुवातदेखि जुलाइसम्म अमेरिकाका विभिन्न राज्यमा ३ सय ३६ वटा गोलीबारीका घटना भएको गन भाइलेन्स आर्काइभको तथ्यांकले उल्लेख गरेको छ ।

गन भाइलेन्स आर्काइभले २०२२ मा अमेरिकामा ६ सय ४७ सामूहिक गोलीकाण्ड रेकर्ड गरेको थियो। अमेरिकामा गोलीकाण्डमा परि यो वर्ष मात्रै ३ सय ५३ जनाले ज्यान गुमाएका छन् । यसमध्ये १२ वर्ष मुनिका १०९ जना बालबालिका छन् ।

अमेरिकाको हाफ मुन बे, मोन्टेरी पार्क, क्यालिफोर्निया बफेलो, न्यूयोर्क, मेरिल्याण्ड, उभल्दे, वासिङटन डिसी, टेक्सासलगायतका राज्य र क्षेत्रमा सामूहिक गोलीबारीका धेरै घटना भएका छन् । क्याम्पस परिसर, सांस्कृतिक उत्सव कार्यक्रम, ग्यास स्टेशन, निजी आवास, डाउनटाउन, राजमार्ग, र प्राथमिक विद्यालय आक्रमणको केन्द्र बनेका छन्।

पछिल्लो पटक गत आइतबार मेरिल्याण्ड राज्यमा भएको गोलीबारीमा दुइ जनाको मृत्यु भयो भने २८ जना घाइते भएका थिए । यसअघि ओक्लोहामा राज्यमा कन्सर्टपछि गोलीबारी भएको थियो भने जुन ३० मा एकैदिन क्यालिफोर्निया र इलियोन्समा सामूहिक गोलीबारीका घटना भएका थिए ।

पुलिस रिपोर्ट, सरकारी स्रोत, समाचार कभरेज, र अन्य सार्वजनिक डेटा प्रयोग गरेर तथ्यांक राख्ने गन भाइलेन्स आर्काइभका अनुसार सन २०१४ देखि २०२३ मे ३१ सम्म अमेरिकामा १७,००० भन्दा बढी मानिस बन्दुक हिंसामा मारिएका छन् ।

अमेरिकामा १८ वर्ष पुगेपछि आफ्नो सुरक्षाको लागि कानुनी रुपमा बन्दुक बोक्न पाइन्छ । यसलाई पनि बन्दुक हिंसा भड्कनुको प्रमुख कारण मानिएको छ । हाल यो अमेरिकाको लागि एक जटिल समस्या बन्दै गएको छ ।

गोलबारी तीव्र रुपमा बढेपछि पटक-पटक अमेरिकी संसदमा बन्दुक सम्बन्धी कानुन परिमार्जन गर्ने कुरा उठिरहन्छ । विज्ञहरु अमेरिकाको बन्दुक कानून र नियममा निर्णायक परिवर्तन आवश्यक रहेको बताउँछन् । गत वर्ष अमेरिकामा बन्दुक सुरक्षा कानून पारित भएपनि सामूहिक गोलीबारीको दर घटेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved