काठमाडौं। नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि ल्याउन लागेको बजेटका सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ।
बिहीबार बोर्डमा आयोजना गरिएको छलफलमा विगत वर्षहरूको बजेटको समीक्षासहित नयाँ बजेटबारे निजी क्षेत्रको राय सुझाव माग गरिएको थियो । छलफलका क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले बोर्डको बजेट डिजिटाइजेसनलाई जोड दिँदै कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दा परम्परागतभन्दा पनि नयाँ ढंगले गर्न बोर्डलाई सुझाव दिए।
यस्तै, निजी क्षेत्रले बोर्डले आयोजना गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा निजी क्षेत्रको सहभागितालाई बढीभन्दा बढी सहभागिता गराउन पनि सुझाव दिएको छ । बोर्डले निजी क्षेत्रको सुझावलाई समेटेर बजेट तर्जुमा गर्ने र बजेट निजी क्षेत्रमैत्री हुने बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिए । उनले छलफलका क्रममा निजी क्षेत्रबाट रचनात्मक सुझाव आएको उल्लेख गर्दै ती सुझावलाई समेटेर बजेटलाई अन्तिम रूप दिइने बताए।
बोर्डको मुख्य काम नै पर्यटन प्रवर्द्धन रहेको परिप्रेक्ष्यमा निजी क्षेत्रबाट प्राप्त सुझावले बजेट कार्यान्वयनमा सहजता लयाउने बजेट समितिका संयोजक तथा बोर्ड सदस्य मिलन देवकोटाले जानकारी दिइन् । उनले बोर्डले आर्थिक वर्ष २०८०-०८१ का लागि करिब सवा अर्ब रुपैयाँ भित्रको बजेट ल्याउने तयारी गरेको समेत जानकारी दिएकी छिन्। संयोजक देवकोटाका अनुसार आगामी आर्थिक वर्षको ८० प्रतिशत बजेटले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन तथा बाँकी रकम आन्तरिक पर्यटन प्रर्वद्धन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना छ ।
यस्तै, बोर्डका सदस्य मदन आचार्यले निजी क्षेत्रसँग गरिएको छलफल फलदायी भएको र यसले बजेट निर्माण तथा कार्यान्वयनमा सहजता ल्याउने बताए। छलफलका क्रममा होटल संघ नेपाल (हान), प्यासिफक एसोसिएसन अफ ट्रावल एजेन्ट (पाटा) ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) नेपाल एसोसिएसन अफ टुर एन्ड ट्रावल एजेन्सिज (नाटा) , नेपाल रफिटिङ एजेन्सिज (नारा) नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) एनटीभीए, एनटीबीए, सोट्टो, लयायतका संस्थाहरूका प्रमुखहरूले बोर्डको आगामी बजेटका सम्बनधमा आफ्ना सुझाव दिएका छन् ।
Facebook Comment
Comment