काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताएका छन्। आइतबार प्रतिनिधि सभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक, २०८०’मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।
मन्त्री महतले सांसदहरुले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताए पनि सरकारले गरिबीको पक्षमा बजेटमा करको व्यवस्था गरेको बताए । मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्ता भए बमोजिम आवश्यकता देखेर हवाई भाडा तथा लक्जरी करको व्यवस्था गरिएको बताए ।
उनले मुलुक भित्र हुने खाने हैसियत बनाएको वर्गलाई लक्षित गरेर केही वस्तु तथा सेवामा कर लगाएको जिकिर गरे । उनले सरकारले व्यवस्था गरेको करले गरिब जनतालाई नछुने बताए । मन्त्री महतले न्युन वर्गले प्रयोग गर्ने वस्तु तथा सेवामा सरकारले कर नबढाएको दाबी गरे ।
उनले सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरुले भने पनि बजेट सन्तुलन कायम भएर आएको बताए । उनले सरकारले हैसियत हेरेर विलासिताका वस्तुमा कर लगाएको बताए । उनले विलासिता कर पाँचतारे होटल वा सो स्तरको रिसोर्ट, १० लाखभन्दा बढी हिरामोती खरिद गर्ने र ५० लाख भन्दा बढी आम्दानी गर्नेको लागि कर बढाइएको भन्दै यो व्यवस्थाले गरिबलाई नछुने बताए ।
उनले सरकारले आलु प्याजमा कर मुलुकभित्रै उत्पादन वृद्धि गरी साना–साना किसानहरूलाई प्रोत्साहन दिने उद्देश्यले लगाएको बताए ।
उनले नेपालका साना किसानहरू नै गरिब भएको भन्दै उनीहरुको उत्पादनले बजार पाउनुपर्ने बताए । उनले कृषि उत्पादन क्षेत्रका विचौलियाको चलखेल तोड्नको लागि सम्पूर्ण राज्य संयन्त्र क्रियाशिल हुन आवश्यक रहेको बताए ।
Facebook Comment
Comment