काठमाडौं। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ देखि देशभर गिट्टी बालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएको छ ।
महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १६ असारदेखि देशभर गिट्टी बालुवा उत्पादन कार्य बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । महासंघले सरकारले कानुनबमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू १५ असारभित्र नवीकरण गर्न निर्देशन गरेको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सीताराम न्यौपानेले १० वर्षदेखि क्रसरका समस्या समाधानको लागि पहल गरे पनि नभएको गुनासो गरे । अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानुनबमोजिम सञ्चालनमा आएका उद्योगहरू समेत बन्द गरेको उनको भनाइ छ ।
मन्त्रिपरिषद्ले माघ ११ मा दर्ता भई सञ्चालनमा रहेका तर मापदण्डलगातका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानुनअनुसार लाग्ने कर, दस्तुर, शुल्कलगायत राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रूपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नभएको बताए ।
क्रसर उद्योगहरू दर्ता वा राजश्व बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरणसमेत नभएको उनको भनाइ छ ।
महासंघले कच्चा पदार्थको रूपमा रहेका ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन कार्य र तिनै कच्चा पदार्थहरू क्रसिङ प्रशोधन गर्नेगरी उद्योग सञ्चालन गर्ने कार्य छुट्टाछुट्टै उद्देश्य रहेको बताएको छ । महासंघले कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग सञ्चालनसँगै जोडेर मूल्याङ्कन गर्न नमिल्ने भन्दै उत्खनन कार्य स्थानीय सरकारमार्फत क्रसर उद्योग सञ्चालन कार्य उद्योग मन्त्रालयमार्फत व्यवस्थापन गर्ने व्यवस्था गर्न माग गरेको छ ।
Facebook Comment
Comment