काठमाडौै। शनिबारबाट काठमाडौंमा सुरु भएको ४ दिने ‘कफी सम्मेलन तथा प्रदर्शनी २०८०’ जारी छ । काठमाडौंको नयाँ बजारमा नेपालमा पहिलोपटक आयोजना गरिएको मेलाले कफीको क्षेत्रमा लगानी कसरी भित्र्याउने र नेपाली कफी कसरी विस्तार गर्ने गर्ने भन्नेबारेमा छलफल गर्नेछ ।
मेलाका क्रममा बोल्दै नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले आजबाट सुरु भएको कफी सम्मेलन नेपालमै पहिलोपटक भएको बताए । उनले भने, ‘आजबाट सुरु भएको पहिलो नेसनल कफी च्याम्पियन हो । यसको एग्जिबिसन पनि छ । यसमा देशका विभिन्न जिल्लामा उत्पादन भएका कफीहरू छन् । त्यसको एउटा च्याम्पियनसिप हो । र वरिस्ता च्याम्पियनसिप, कला देखाउने च्याम्पियनसिप पनि छ । यसले युवाहरूलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्छ । यसले आन्तरिक बजारलाई प्रवर्द्धन गरेको छ । उत्पादनमा जोड दिन र उत्पादनमा रहेका कमजोरीलाई समाधान गर्न पनि छलफल गर्नेछौँ ।’
मेलाका क्रममा बोल्दै नेपाल कफी व्यवसायी महासंघको महासचिव सन्तोष पोखरेलले देशभरका कफी उत्पादकहरूलाई एकै ठाउँमा जम्मा गर्ने उद्देश्यले मेला सञ्चालन गरिएको बताए । कफी मेलाले देशमा कफीको क्षेत्रमा रहेको समस्या समाधान र यसमा रहेका नीतिगत समस्याहरूको गाँठो फुकाउने उनले विश्वास व्यक्त गरे ।
मेलामा सहभागी व्यवसायी तथा कफी उत्पादकहरूले मेलाले आफ्ना ग्राहकहरूसमक्ष पुग्न सहज माध्यम बनेको बताए । उनीहरूले यस्ता सम्मेलनले उपभोक्तासम्म आफूलाई जोड्न र बजार व्यवस्थापनमा टेवा पुग्ने विश्वास आफ्नो रहेको बताए ।
आजबाट सुरु भएको मेला असार ५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा देशभरबाट ३० वटा जिल्लाका कफी उत्पादकहरू सहभागी छन् । कफीको प्रवर्द्धनका लागि आयोजकले विभिन्न विधामा प्रतिस्पर्धा गराउने बताएको छ । प्रतिस्पर्धाबाट उत्कृष्ट चुनिएकाहरूले स्वदेशमा मात्र नभई विदेशमा पनि आफ्नो कला प्रस्तुत गर्न मद्दत पुग्ने आयोजकको भनाइ छ ।
Facebook Comment
Comment