काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरूले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरूको टोलीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताए। अर्थमन्त्री महतले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गरे ।
उनले सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताए । आलु प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने उनले बताए।
उनले करको व्यवस्थाले मूलतः आयातित वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने बताए । अर्थमन्त्री महतले सुपरमार्केटमा त्यही खालका उपभोक्ताहरू पुग्ने भएकाले त्यहाँ कर लगाएको बताए ।
उनले सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको बताए । तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको उनले बताए ।
उनले भने,‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो । कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत गरिएको हो ।सरकारले कृषि क्षेत्रमा दिने अर्बौंंको अनुदानको सदुपयोग भएन । दुरुपयोग भयो । कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ ।’
उनले सरकारले नयाँ टेक्नोलोजी प्रयोग गर्ने कृषकहरूलाई प्राथमिकतामा राखेर उत्पादन अनुदान दिने बताए । उनले नेपाली किसानहरूले ढुक्क भएर उत्पादन बढाउन आग्रह गरे ।
Facebook Comment
Comment