सांसद खतिवडाको प्रश्न- मन्दिरमा राख्न लागेको सुनमा बदमासी गर्नेले देशलाई के गर्लान ?

नेपालभ्युज

सांसद खतिवडाको प्रश्न- मन्दिरमा राख्न लागेको सुनमा बदमासी गर्नेले देशलाई के गर्लान ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन् ।

आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाँझ उनले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रर्दशन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए । सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको जलहरी प्रकरणबारे आफूहरुले संसदमा फेरी पनि कुरा उठाउने बताए ।

‘प्रतिपक्ष यस्तो अनम्याच्युअर छ । एक छिन जुरुक्क उठेर संसदतिर घेर्न पुग्छ । किन भन्दा जलहरीको सुन हरायो रे । ए बाबा, महालेखाको प्रतिवेदनमा हरायो भनेकै छ । महालेखाको प्रतिवेदन सबै सांसदको हातहातमा दिएको छ । त्यो बारेमा छलफल गर्नै छ’ उनले भने,  ‘हामीलाई चिन्ता के हो भने दश किलो पशुपतिनाथ संसारकै देउताको मन्दिरमा राख्न लागेको सुन त बदमासी गर्नेले अरु देशलाई के गर्लान ? कसले गर्‍यो ? म भन्दिन ।’

‘कुन प्रधानमन्त्रीले सुनको कोट लगाउनु भयो, कुन मन्त्रीले लगाउनुभयो ? सुनैसुनको लुगा लगाएर को हिँडनु भयो, त्यतातिर भन्दिन । तर बदमासीको छानविन गर हामीले भनेको हो । त्यो भन्दा उहाँहरु फेरी संसद घेर्न जानु हुन्छ’ उनले अगाडी  भने,  ‘भोलीपल्ट कसले कुटाई खायो, संसद घेर्न जानु हुन्छ । तर टिक्न सक्नु हुन्न । त्यसकारण संसदलाई अनिर्णयको बन्दीजस्तो बनाउन खोज्नु भयो । भैंसी–राँगाको कुरा गर्ने स्थल, जलहरीको कुरा नगर्ने स्थल बनाउन खोज्नु हुन्छ । यसमा हाम्रो विरोध छ ।’

सांसद खतिवडाले संसदमा उठेका सबै विषयमा छलफल गर्न संसद स्वतन्त्र हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved