रोनाल्ड डि. डिसेन्टिस बन्लान् अमेरिकाको राष्ट्रपति ?

डिसेन्टिसको उम्मेदवारी घोषणासँगै अमेरिकी राजनीतिमा तरंग पैदा भएको छ । रिपब्लिकन अनुमोदन पाएमा आगामी राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडनसँग उनको प्रतिस्पर्धा हुने सम्भावना छ ।

नेपालभ्युज

रोनाल्ड डि. डिसेन्टिस बन्लान् अमेरिकाको राष्ट्रपति ?

काठमाडौं । फ्लोरिडाका गभर्नर ४५ वर्षिय रोनाल्ड डि. डिसेन्टिसले आगामी राष्ट्रपतिय निर्वाचनका लागि उम्मेद्वार बन्न रिपब्लिकन पार्टी ककस र प्राइमरीमा भाग लिने घोषणा गरेका छन् । डिसेन्टिसको यो घोषणासँगै अमेरिकी राजनीतिमा तरंग पैदा भएको छ । उनी विश्वका संचारमाध्यममा समेत छाएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले रिपब्लिकन उम्मेद्वार हुने आकांक्षा अझै त्यागेका छैनन् । तर ट्रम्पको उमेर, पहिलो कार्यकालका घटना, कानुनी तथा नैतिक संकटका कारणले उनलाई रिपब्लिकन पार्टीले अनुमोदन गर्ने सम्भावना कमजोर भएको छ ।

डेमोक्रेटिक पार्टीबाट भने वर्तमान राष्ट्रपति जो बाइडन नै सम्भाव्य उम्मेद्वार मानिएका छन् । तर, उनी चुनौतीहीन भने छैनन् । पार्टीभित्र उनलाई रोबर्ट केनेडी र म्यारिने डि विलिम्सनले डेमोक्र्याटिक ककस र प्राइमरीमा चुनौती दिने भएका छन् ।

रिपब्लिकन प्राइमरीमा १० भन्दा बढी दाबेदार हुने अनुमान गरिएको छ । डोनाल्ट ट्रम्प र डिसेन्टिस लगायत अहिलेसम्म ७ जनाले उम्मेद्वारी घोषणा गरिसकेका छन् । तर, फ्लोरिडाका गभर्नर रोनाल्ड डि. डिसेन्टिसको घोषणालाई बढी अर्थपूर्ण मानिएको छ ।

डिसेन्टिसले रिपब्लिकन अनुमोदन पाएमा आगामी राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडनसँग उनको प्रतिस्पर्धा हुने सम्भावना छ । सन् २०२४ नोभेम्बर ५ मा अमेरिकाको ६० औं राष्ट्रपतीय निर्वाचन हुनेछ । राष्ट्रपति बाइडन आगामी चुनावको अवधिमा ८२ वर्षको हुनेछन । तर डिसेन्टिस ४५ वर्षका मात्रै छन् ।

डिसेन्टिस रिपब्लिन पार्टीको उदियमान नेता मानिन्छन् । तर, उनले ट्रम्पलाई प्राइमरीमा पराजित गर्न सक्छन् कि सक्दैनन् ? यो प्रश्न भने अझै गम्भीर छ । ट्रप अझै एक बलिया दाबेदार मानिन्छन् । राजनीतिमा आउनु अघि डिसेन्टिसले सेनामा काम गरेका थिए । उनी ग्वान्टानामो र इराकजस्ता संवेदनशील आर्मी ब्यारेकमा समेत तैनाथ भएका थिए । सेनामा उनी लेफ्टिनेन्ट जर्नेलसम्म भएका थिए । तर, उनले सैनिक सेवा छोडेका थिए ।

सन् २०१२ मा पहिलो पटक कांग्रेस सदस्य निर्वाचित भएका थिए । उनी सन् २०१२, सन् २०१४ र सन् २०१६ गरी ३ पटक प्रतिनिधिसभा सदस्य बनेका थिए । अघिल्लो शासनकालमा उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका बलिया समर्थक मानिन्थे । तसर्थ ट्रम्प समर्थकको समेत सहानुभूति, समर्थन र सहयोग उनले प्राप्त हुन सक्ने विश्लेषण गरिँदैछ ।

डिसेन्टिसले सन् २०१८ र सन् २०२२ मा फ्लोरिडा गभर्नरको निर्वाचन जितेका थिए । डिसेन्टिसको व्यक्तित्व रिपब्लिन पार्टीको पुनर्उदयका लागि आकर्षक र आक्रामक हुन सक्ने मानिएको छ । प्रतिस्पर्धी जो बाइडनको बुढ्यौली उमेर समेत डिसेन्टिसका लागि फाइदाको बिषय हुन सक्ने छ ।

ट्वीटर एकाउन्टको प्रोफाइलमा समेत उनले ‘राष्ट्रपति उम्मेद्वार’ लेखेका छन्। उनले ट्वीटरमा एक भिडियो राख्दै ‘ग्रेट अमेरिकन कमब्याक’ को नेतृत्व गर्न आफूले यो कदम चालेको बताएका थिए । डिसेन्टिसका सोच र नीति भने रिपब्लिन पार्टीभित्रको कन्जर्भेटिभ धारसँग मिल्दाजुल्दा छन् । उनी कर्पोरेट कर कटौती र कठोर गर्भ सुरक्षा नीतिका पक्षधर हुन् ।

अमेरिकी राजनीतिका जानकारका अनुसार जो बाइडनको जारी राष्ट्रपतीय कार्यकाल त्यति नराम्रो नभए पनि खासै आकर्षक भने रहेको छैन । बाइडनको उमेरको कारणले पनि युवा मतदातामा उनको आकर्षण र लोकप्रियता घटेको छ । बाइडनले आगामी चुनाव जितेमा कार्यकाल पूरा गर्दासम्म ८६ वर्षको हुनेछन् । यसलाई धेरै अमेरिकीले राम्रो मानेका छैनन् ।

सर्वेक्षणहरुले बाइडन नै डेमोक्रेटिक उम्मेद्वारका रुपमा दोहोरिए हार्न सक्ने देखाएका छन् । तसर्थ फ्लोरिडा गवर्नर रोनाल्ड डि. डिसेन्टिस अमेरिकाको आगामी राष्ट्रपतिमा निर्वाचित हुन सक्ने सम्भावना बलियो रहेको बताइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved