काठमाडौं। आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। आईसीसीले जिम्बाब्वेमा हुने छनोटको खेलतालिका सोमबार सार्वजनिक गरेको हो ।
छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बाब्वेसँग असार ३ गते खेल्नेछ। असार ५ मा नेपालले दोस्रो खेल अमेरिकासँग खेल्नेछ। असार ७ मा भने नेपाल र वेस्ट इन्डिज आमने-सामने हुनेछन्। असार ९ मा नेपाल र नेदरल्यान्ड्स आमने-सामने हुनेछन्।
छनोटको तयारीस्वरूप जेठ ३० मा ओल्ड हरारियन्समा नेपालले यूएई र जेठ ३२ मा हरारेमा ओमानसँग वार्मअप खेल पनि खेल्नेछ।
छनोटमा सहभागी १० राष्ट्रलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ। नेपाल, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र अमेरिका समूह ‘ए’ मा रहेका छन्। ओमान, आयरल्यान्ड, श्रीलंका, यूएई र स्कटल्यान्ड भने समूह ‘बी’मा रहेका छन्।
समूह चरणमा हरेक राष्ट्रले ४ खेल खेल्नेछ। समूह चरणमा आफ्नो समूहको शीर्ष ३ मा पर्ने राष्ट्रहरू सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा दुई समुहबीचको राष्ट्रहरूबीच प्रतिस्पर्धा हुनेछ।
सुपर सिक्सको शीर्ष २ मा पुग्ने टोलीले आइसीसी एकदिवसीय विश्वकपमा स्थान पक्का गर्नेछ। विश्वकप आगामी अक्टोबरमा भारतमा आयोजना हुनेछ।
१३ राष्ट्रमध्ये विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेको भारत, पाकिस्तान, न्युजिल्यान्ड, बङ्गलादेश, अस्ट्रेलिया, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपको लागि स्वतः छनोट भइसकेका छन्।
Facebook Comment
Comment