काठमाडौं। गत महिना भारत छत्तिसगढ राज्यको अरनपुर इलाकामा नक्सलवादीले एक प्रहरी भ्यानलाई विद्युतीय धरापमा पारी ११ सिपाहीको हत्या गरे। त्यसअघि नक्सलवादी आन्दोलन लगभग समाप्त हुँदै गएको विश्लेषण गरिएको थियो। तर यो घटनाले नक्सलवादको चर्चा फेरि सुरु भएको छ।
भारतमा नक्सलवादी आन्दोलन ५० वर्ष भन्दा बढी समयदेखि सबैभन्दा ठूलो सुरक्षा जोखिममध्ये एक मानिँदै आएको थियो। भारतका पश्चिम बंगाल, बिहार, झारखण्ड, अन्ध्र प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, तेलंगना, उडिसा र कर्नाटका राज्यमा नक्सलवादी आन्दोलनको प्रभाव छ।
नक्सलवादी आन्दोलनको प्रभाव भारतमा मात्र सीमित नभएर नेपालमा समेत उत्तिकै परेको थियो। नेपालको सुदुरपूर्वी जिल्ला झापामा २०२७–२०२८ सालमा भएको झापा विद्रोहलाई नक्सलवादी आन्दोलनबाट प्रभावित मानिन्छ। यही आन्दोलनको क्रममा मोहनचन्द्र अधिकारी, सीपी मैनाली, आर के मैनाली, केपी ओलीलगायतका झापाली नेता लामो समय जेल बसेका थिए। अहिलेको नेकपा (एमाले) यही आन्दोलनबाट विकसित भएको हो।
त्यसो त १० वर्षे माओवादी जनयुद्धकालमा पनि नेपालका माओवादी र भारतका नक्सलवादीबीच सहकार्य थियो। उनीहरूले माओवादी कम्युनिस्ट पार्टीको सञ्जाल ‘कम्पोसा’ बनाएका थिए।
नक्सलवारी भारतको पश्चिमबंगाल राज्यको एक उत्तरपूर्वी इलाकाको नाम हो। यो क्षेत्रबाट आन्दोलनको प्रारम्भ भएको हुँदा यसलाई नक्सलवादको नाम दिइयो। नक्सलवाद माओवादी क्रान्तिकारी आन्दोलनको भारतीय नाम हो। यसका मुख्य नेता चारु मजुमदार थिए। उनलाई ‘नक्सलवादका पिता’ पनि भनिन्छ। उनी माओवादमा विश्वास गर्थे र चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ च तुङ लाई विश्व कम्युनिस्ट आन्दोलनका आदर्श नेता मान्दथे।
चारु सिलिगुढी क्षेत्रको एक जमिन्दार परिवारमा सन् १९१८ मा जन्मिएका थिए। युवा उमेरमा कम्युनिस्ट पार्टीमा लागेका उनी चीनको सांस्कृतिक क्रान्तिबाट प्रभावित भएका थिए। तसर्थ, संसदीय धारको कम्युनिस्ट आन्दोलनसँग उनको विमति हुँदै गयो।
सन् १९५० मा बङ्गालका मुख्यमन्त्री विधानचन्द्र राय विरुद्धको एक आन्दोलनमा भाग लिए वापत उनलाई जेल पठाइयो। त्यहाँ उनको भेट कानु सन्याल नामका अर्को क्रान्तिकारी विद्यार्थीसँग भयो। यी दुई एकअर्काका घनिष्ठ मित्र बने। जेलबाट छुटेपछि कानुलाई पनि चारुले भारतीय कम्युनिस्ट पार्टीको सदस्य बनाए। तर, पार्टीमा उनीहरूले सशस्त्र क्रान्तिको बाटो लिनु पर्ने भन्दै फरक कार्यदिशाको पैरवी गर्न थाले।
सन् १९६७ बाट चारु र कानु सशस्त्र किसान विद्रोहको तयारी र कम्युनिस्ट क्रान्ति उद्घोष गर्ने बाटोमा लागे। नक्सलवादी आन्दोलनका तेस्रो नेता थिए–जङ्गल सन्थाल। उनी आदिवासी समुदायका थिए। चारु मजुरदारको निकट सम्पर्कमा रहेका सन्थालले नरेन्द्र राय चौधरी नामक एक जमिनदारको हत्या गरी सशस्त्र क्रान्तिको पहिलो कारबाही सुरुवात गरेका थिए।
तर, तीन जना नक्सलवादी नेताको दुखान्त अवसान भयो। सन् १९७२ को जुलाई १६ मा चारु मजुमदार गिरफ्तार भए। १२ दिनपछि जुलाई २८ मा कलकत्ताको लालबजार थानामा उनको मृत्यु भयो। उनलाई चरम यातना दिएको र स्वास्थ्य उपचार नगरेको कारणले मृत्यु भएको आशङ्का गरिन्छ। कानु सन्यालले भने सन् १९७७ मा सशस्त्र क्रान्ति र कम्युनिस्ट विचारधारा नै परित्याग गरे। उनी शान्तिपूर्ण व्यक्तिगत जीवनमा फर्किए। धेरै पछि सन् २०१० को मार्च २३ मा उनले आत्महत्या गरे।
जङ्गल सन्थाललाई गिरफ्तारीपछि अलिपुर सेन्ट्रल जेलमा राखिएको थियो। उनलाई सशस्त्र क्रान्ति र कम्युनिस्ट विचारधारा परित्याग गरे आम माफी दिइने आश्वासन दिइएको थियो। तर, उनले अस्वीकार गरे। जेलबाट छुटेपछि भने उनी रक्सीको कुलतमा लागे। उनी डिप्रेसनको सिकार पनि भए। सन् १९८८ डिसेम्बर ४ मा उनको मृत्यु भयो।
तीन नेताको अवसानपछि यो आन्दोलनको कुनै एउटा केन्द्र रहेन। दर्जनौँ स-साना समूहमा विभक्त भयो। त्यसमध्येको एक भाकपा (माले– लिवरेसन) विनोद मिश्रको नेतृत्वमा शान्तिपूर्ण संसदीय राजनीतिमा फर्कियो। अहिले यो बिहारको विधानसभामा १२ सिटे प्रादेशिक पार्टी छ। यसका महासचिव छन्– दीपंकर भट्टाचार्य।
अन्य समूहका नेताहरू भने अस्पष्ट छन्। विभिन्न भूमिगत नामले विभिन्न नेता बेलाबेला चर्चामा आउँछन्। छत्तिसगढ, तेलंगाना र आन्ध्र प्रदेशमा अझै नक्कलवादी समूहको प्रभाव छ। जङ्गल र पहाडी इलाकामा यसका छापामार टुकडी लुकेर बस्ने गर्दछन्।
नेपालमा भने झापा विद्रोहबाट उदाएको एमाले एक संसदवादी दल भइसकेको छ। शान्ति सम्झौता र संविधानसभा हुँदै माओवादी राजनीतिको मूलधारमा छ। यसका नेता प्रचण्ड देशकै प्रधानमन्त्री छन्। प्रचण्ड–बाबुरामसँग विद्रोह गरेर सशस्त्र विद्रोहलाई निरन्तरता दिने प्रयत्नका बाबजुद विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा फर्किएको छ।
भारतमा भने नक्सलवादी आन्दोलनको ५० वर्षका क्रममा अहिलेसम्म ५० हजार भन्दा बढीको मृत्यु भइसकेको बताइन्छ। यसको अझै अन्त्य भएको छैन।
Facebook Comment
Comment