बागमती नदी किनारमा फोहर फाल्नेलाई अब जरिवाना

नेपालभ्युज

बागमती नदी किनारमा फोहर फाल्नेलाई अब जरिवाना

काठमाडौं। राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु बागमती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलमै जरिवाना गरिएको छ ।

बागमती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामङ्गल पुलमुनिको नदी किनारमा फोहर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्डर्सलाई रु १०/रु १० हजार गरी रु २० हजार जरिवाना गरिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए। काठमाडौं महानगरपालिकाले सफाइस्थलमै रसिद काटेर दोषीलाई कारबाही गर्ने अभियान नै चलाउने भएको छ ।

महाअभियानले प्रत्येक हप्ता जरिवाना लिने रसिदसहित नगर प्रहरी र कर्मचारी पठाई सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरेका थिए । सफाइ महाअभियानले काठमाडौं उपत्यकाका दुवै महानगरपालिका र सबै नगरपालिकालाई दिगो फोहर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

विसं २०७० जेठ ५ देखि सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुईघण्टा सञ्चालन हुने गरेको छ । आज सफाइ महाअभियानका ५२२औं हप्तामा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । अर्को शनिबार बिहान पनि यसै स्थानमा सफाइ गरिने जनाइएको छ ।

यसैगरी, विष्णुमती सफाइ अभियानको ४७०औँ हप्तामा मानसिंह धर्म माध्यमिक विद्यालय परिसरमा सफाइ गरिएको छ । सफाइबाट एक ट्र्याक्टर नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए।

बागमती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकाका सबै नदी, सांस्कृतिक सम्पदालगायत सार्वजनिकस्थलमा सफाइ अभियान सुरु भएको छ । रुद्रमती नदीमा पनि सफाइ गर्ने गरिए पनि सेतोपुल क्षेत्रमा सिधै नदीमा ढल हालेर प्रदूषित बनाइएको अभियानकर्मी राम साहले जानकारी दिए।

यसैगरी, आज गुह्येश्वरीमाथिको बागमती, मनोहरा, रुद्रमती, मनोहरा, ललितलपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि सफाइ गरिएको जनाइएको छ । जताततै सफाइ अभियान जारी रहे पनि ठोस उपलब्धि नभएको भन्दै आलोचना हुने गरेको छ ।- रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved