कालीकोटमा बलात्कार आरोपित पक्राउ गर्न जाँदा गाउँलेबाट प्रहरी कुटिए

बलात्कार आरोपित बुढा हत्कडीसहित फरार

कालीकोटमा बलात्कार आरोपित पक्राउ गर्न जाँदा गाउँलेबाट प्रहरी कुटिए

सुर्खेत। कालीकोटमा बलात्कार आरोपमा लागेको एक जनालाई पक्राउ गर्न गर्न गएका प्रहरी गाउँलेबाट कुटिएका छन् । बलात्कारको आरोपमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा गाउँलेले प्रहरी र पीडित परिवारमाथि आक्रमण गरेका हुन् ।

बलात्कार आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरीमाथि गाउँलेले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

आज (सोमबार) बिहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुभराज बमले बताए ।

गाउँलेहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र पीडित परिवारका सदस्य धनमान विक घाइते  भएका छन् ।’ उनले भने,‘घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते विकको अवस्था गम्भीर रहेको छ । घाइते दुवैलाई हेलिकोप्टरमार्फत उद्दारको तयारी भइरहेको छ ।’

बलात्कार आरोपित बुढा हत्कडीसहित फरार भएको उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटाइएको निमित्त प्रहरी प्रमुख बमले बताए । ‘बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका आरोप लागेको थियो ।’

उनले भने, ‘पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि सोमबार बिहान ४ बजे उनलाई पक्राउ गर्न चार जना प्रहरी टोली गएको थियो ।

प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेका हुन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved