एजेन्सी। अमेरिकाको टेक्सासमा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ ।
ब्राउन्सभिल सहरमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कार अन्धाधुन्ध कुदाउँदा ७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
कम्तिमा छ जना अन्य घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। ज्यान गुमाउने अधिकांश भेनेजुएलाका पुरुष हुन् ।
चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । यसअघि अमेरिकी सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यो जानाजानी हमला भएको बताएको थियो।
नजिकैको विशप एनरिक सान पेड्रो ओजानम सेन्टरका निर्देशक भिक्टर माल्डोनाडोले बीबीसी वर्ल्ड सर्भिसको न्युजहोर कार्यक्रममा भने कि सीसीटिभी फुटेजमा एउटा कार तीव्र गतिमा बस स्टपमा पुगेको देखिएको छ।
घटनापछि चालकलाई उपचारका लागि अस्पताल लगिएको र लागुऔषध र मदिरा परीक्षण गरिएको प्रहरीले जनाएको छ । उनले अधिकारीसँग असहयोग गरेको बताइएको छ ।
अमेरिकी सीमा सुरक्षा अधिकारीहरूका अनुसार ब्राउन्सभिल सहरमा हालै अवैध आप्रवासीहरूको आगमनमा तीव्र वृद्धि भएको छ।
Facebook Comment
Comment