पेरिस। लियोनेल मेस्सीले आफ्नो पेरिस सेन्ट-जर्मेन टोलीका साथीहरूसँग माफी मागेका छन् र क्लबले उनीबारे के निर्णय गर्छ भन्नेबारेमा पर्खने बताएका छन्। साउदी अरबको अनधिकृत भ्रमणका लागि अर्जेन्टिनाका कप्तानलाई क्लबले दुई साताका लागि निलम्बन गरेको छ ।
आइतबार लोरिएन्टसँग पीएसजीको घरेलु हारपछि मेस्सी साउदी पुगेका थिए । पछिल्ला ६ खेलमा पीएसजीको यो तेस्रो हार थियो ।
मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचेँ कि हामीले खेल पछिको दिन बिदा लिनेछौँ, जुन अघिल्लो हप्ताहरूमा भएको थियो। मैले साउदी अरबको योभन्दा अघिल्लो यात्रा रद्द गरेको थिएँ। यसपटक मैले रद्द गर्न सकिनँ।’
३५ वर्षीय खेलाडी साउदी अरबका लागि पर्यटन दूतको भूमिकामा छन् ।
यो सिजनको अन्त्यमा सम्झौता सकिएपछि मेस्सी पीएसजी छाड्ने तयारीमा छन् । यता पीएसजीका म्यानेजर क्रिस्टोफ गाल्टियरले मेस्सीको निलम्बनसँग आफ्नो ‘केही सरोकार नभएको’ बताएका छन्, साथै खेलाडीहरूको घरबाहिर फ्यानको विरोधको निन्दा पनि गरेका छन्।
Facebook Comment
Comment