काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताएका छन् । सोमवार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरिक्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनैपनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताएका हुन् ।
उनले सरुवा, बढुवा संगठनले चाहे अनुसार नै भइरहेको स्पष्ट पारे। उनले सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिहरुलाई हटाइएको पनि बताए । उनले सीमा सुरक्षा गर्नु आफूहरुको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने गरेको उल्लेख गरे । महानिरीक्षक अर्यालले काममा डिजिटलाइजेशन गर्ने लक्ष्य राखिएको र सो का लागि सरकारले बजेटको सुनिश्चितता पनि दिइसकेको जानकारी गराए ।
‘सादा पोशाकमा हुने विकृति हटाएको हो । सादा पोशाकबाट गएर बार्गेनिङ गर्ने काम हुँदैन । राजनीतिक हस्तक्षेप कुनैपनि छैन यो सशस्त्र प्रहरी बलमा । हामीले संगठनले चाहे अनुसारको सरुवा, बढुवा गरेका छौँ ‘ उनले भने, ‘प्राथमिकताका आधारमा सीमामा जनशक्ति राख्दै जान्छौँ । सुविधा पाउँदा मात्रै गर्छौं भन्ने होइन । सुविधा नपाउँदाखेरी टेन्ट टाँगेर पनि बसेर गर्नुपर्ने हुन्छ । त्यसैले हामी बिओपीलाई प्राथमिकता दिएर काम गर्दै जान्छौँ ।’
‘डिजिटलाइजेशन गर्ने हाम्रो मुख्य लक्ष्य छ । यसको लागि सरकारले पनि सहयोग गर्दै आएको छ । बजेटको सुनिश्चितता पनि दिइसकेको छ । हामीले यहाँ सेन्टरमा बसेर सबै ठाउँको मनिटर गर्नसक्यौँ भने राम्रो हुन्छ भन्ने हिसाबले काम गरेका छौँ, उनले अगाडी भने ।’
उनले सशस्त्र प्रहरी बललाई आकर्षक सेवाको रुपमा स्थापित गर्ने उद्देश्यसहित अगाडी बढिरहेको बताए ।
Facebook Comment
Comment