काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एसियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार एडीबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको हो।भेटवार्तामा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवल प्रसाद भण्डारी थिए भने एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नोड कौकोइस, प्रमुख अर्थशास्त्री जान हानसेन, वरिष्ठ कार्यक्रम अधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक सिर्जना राजभण्डारी सहभागी थिए।
शिष्टाचार भेटवार्तामा आयोग र एडीबीबीच सहकार्यका विषयमा छलफल भएको थियो । छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा एडीबीले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा समेत सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे।
भेटमा एडीबीको सहयोगमा सञ्चालित आयोजनाहरूको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो । उपाध्यक्ष डा. श्रेष्ठले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनाहरूमा लगानी आवश्यक रहेको बताए । उनले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने भन्दै त्यस्ता परियोजनाहरूमा लगानी गर्न एडीबीसँग अनुरोध गरे ।
एडीबीका कन्ट्री हेड कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यु भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनाहरूमा लगानी गर्न एडीबी तयार रहेको बताए । एडीबीले लगानी गरेका नेपालका विकास परियोजनाहरूको पोर्टफोलियो सुधारिएको समेत बताए ।
एडीबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा त्यस्तो लगानी गरेको हो । गत वर्ष मात्र एडीबीले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो ।
पेर्टफोलियो रिभ्यु कार्यक्रममा एडिबीले शहरी खानेपानी तथा सरसफाइ आयोजना, बागमती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृतसमेत गरेको थियो ।
मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशूली जलविद्युत् आयोजना लगायतमा दर्जनौँ आयोजनाहरूमा एडीबीले लगानी गरेको छ ।
Facebook Comment
Comment