काठमाडौं। कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
कर्णालीका प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीलाई शपथ खुवाएका हुन्।
कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका छन्।
यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको रूपमा शपथ लिएकी छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ८ वटै कायम गर्ने निर्णय गरेसँगै राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा ऊर्जामन्त्री बनेकी हुन्।
बुधबार गर्ने भनिएको शपथ कांग्रेसको कारण हुन सकेको थिएन। तर, बिहीबार बिहान कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरूको प्रयासमा विवादलाई साम्य पार्दै मन्त्री नियुक्त र शपथ कार्यक्रम सम्पन्न भएको थियो। मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए।
Facebook Comment
Comment