गर्मी र प्रदूषणले शहरदेखि गाउँसम्मको जनजीवन प्रभावित, तत्कालै पानी नपर्ने

भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सयभन्दा माथि छ । यो स्वास्थ्यको लागि निकै अस्वस्थकर हो । यस्तै, कीर्तिपुर,  रत्नपार्क, मध्यपुर थिमि, हेटौँडा र धनकुटाको हावा पनि अस्वस्थकर छ ।

नेपालभ्युज

गर्मी र प्रदूषणले शहरदेखि गाउँसम्मको जनजीवन प्रभावित, तत्कालै पानी नपर्ने

काठमाडौं । बढ्दो गर्मी र प्रदूषणले शहरदेखि गाउँसम्मकै जनजीवन प्रभावित भएको छ । देशका ४० भन्दा धेरै जिल्लामा लागेको डढेलो, अव्यवस्थित विकास र खडेरीका कारण गर्मी र प्रदूषण उच्च भएको छ ।

काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् । भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सयभन्दा माथि छ । यो स्वास्थ्यको लागि निकै अस्वस्थकर हो । यस्तै, कीर्तिपुर,  रत्नपार्क, मध्यपुर थिमि, हेटौँडा र धनकुटाको हावा पनि अस्वस्थकर छ ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ ।

पानी परेमा प्रदूषण केही कम हुन्छ । तर, तत्कालै पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बांकी भू–भागहरूमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved