मुख थुनेर पक्राउ गरिएका युवाविरुद्ध मुद्दा चलाइँदै

प्रहरी भन्छ- प्रधानमन्त्रीविरुद्द नारा लगाइएकाले अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागेका हौँ

लोकतन्त्रमा नागरिकले आवाज राख्न पाइने भए पनि मुखै थुनेर आवाज दबाएको भन्दै विरोध भइरहेको छ। नियन्त्रणकै शैलीको विरोध भइरहँदा प्रहरीले भने थप कारबाहीको लागि मुद्दा चलाउन लागेको हो।

नेपालभ्युज

मुख थुनेर पक्राउ गरिएका युवाविरुद्ध मुद्दा चलाइँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने तीन युवाविरुद्ध सरकारले मुद्दा चलाउने भएको छ। सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्माविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा ललाउन लागिएको काठमाडौं प्रहरीले जनाएको छ।

प्रधानमन्त्री ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने ती युवालाई नियन्त्रणमा लिँदा प्रहरीले बोल्न नदिने भन्दै सासै फेर्न मुस्किल हुने गरी नाक–मुख थुनिदिएको थियो। प्रहरीको पक्राउ शैलीलाई लिएर चौतर्फी विरोध भइरहेको छ।

मंगलबार दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पुग्दा नाराबाजी भएपछि उनीलाई नियन्त्रणमा लिइएको थियो। पक्राउ परेका तीन जना युवा महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन्।

प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गर्दा मुख थुनिएको भन्दै सरकारको आलोचना

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले नेपाल भ्यूजलाई भने ‘‘प्रधानमन्त्रीविरुद्ध जथाभाबी नाराबाजी गरेपछि पक्राउ गरिएको हो। मुद्दा चलाउने तयारी छ। अरूले आयोजना गरेको कार्यक्रममा प्रवेश गरेर जथाभाबी नाराबाजी गरेपछि नियन्त्रणमा लिइएको हो।’’

प्रहरीसँगको बयानमा उनीहरूले ‘बैंकको ब्याज निकै महँगो भएकाले घटाउनुपर्ने आफूहरूको माग भएको’ बताएका छन्। पछिल्लो समय झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले त सभा गरेर नै बैंकको ब्याज नतिर्न आह्वान गरिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी- युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन

सरकार प्रमुखको विरोध गर्ने वा उनीसमक्ष आफ्ना कुरा राख्न खोज्ने नागरिकको प्रहरीले मुखै थुनिदिएको उक्त घटनाका भिडिओ र फोटो सामाजिक सञ्जालमा भाइरल छ।

लोकतन्त्रमा नागरिकले आवाज राख्न पाइने भए पनि मुखै थुनेर आवाज दबाएको भन्दै विरोध भइरहेको छ। नियन्त्रणकै शैलीको विरोध भइरहँदा प्रहरीले भने थप कारबाहीको लागि मुद्दा चलाउन लागेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved