काठमाडौं। उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । यसअघि, पृथ्वीनारायण क्याम्पस पोखराको मुद्दा पनि अदालतमा पुगेको थियो।
‘स्कुल अफ मेनेजमेन्ट’ मा अध्ययनरत तीनजना विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै दायर गरेको रिटमा उच्च अदालत सुर्खेतले यस्तो आदेश दिएको हो । अदालतले अर्को आदेश नआउँदासम्म चैत ५ गते हुन लागेको निर्वाचन रोक्न आदेश दिएको हो ।
अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ती विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालयलगायत पाँचवटा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।
त्यसैगरी, पृथ्वीनारायण क्याम्पस पोखरालाई पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल अघि नबढाउन उच्च अदालत पोखराले अल्पकालीन अन्तिरम आदेश जारी गरेको छ। विप्लवी न्यौपानेले पृथ्वी नारायण क्याम्पस पोखराविरुद्ध दायर गरेको रिटमा न्यायाधीश ऋषीराज भण्डारीको इजलासले यस्तो आदेश जारी गरेको हो।
स्वतन्त्र विद्यार्थी समूहले पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु निर्वाचनका लागि नाम दर्ता गराएको र क्याम्पस प्रशासनले नाम बिगारेर ‘पृथ्वी विद्यार्थी मञ्च’ भनेर नामावली सार्वजनिक गरेपछि विद्यार्थी विप्लवी न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्।
रिटमाथिको बहसपछि उच्च अदालत पोखराले भोलि (चैत्र २ गते) पेसी तोकेको छ। साथै, निर्वाचनका कुनै पनि गतिविधि अघि नबढाउनसमेत भनेको छ।
उता पोखराकै लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन क्याम्पसमा पनि नेपाली कांग्रेस निकट विद्यार्थी संगठनका विद्यार्थीले आमरण अनशन सुरु गरेका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा मागेका छन्।
उनीहरूले निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, नयाँ निर्वाचन अधिकृत र नयाँ निर्वाचन तालिका घोषणा हुनुपर्ने माग राखेका छन् । उनीहरूले पश्चिमाञ्चल क्याम्पसमा निर्वाचन अधिकृतले अनधिकृत व्यक्तिको दबाबमा आएर राजनीतिक स्वार्थका लागि विद्यार्थीको नाम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
पश्चिमाञ्चल क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थीको दुई समूह छ । टिकट वितरणको विषयलाई लिएर आन्तरिक विवाद हुँदा एक समूहले अर्को समूहलाई नस्विकारेको हो । टिकट वितरणमा मनोमानी भएको भन्दै नेविसंघ इकाइ उपसभापति, सचिव, सदस्यसहित १४ जनाले राजीनामा दिएका छन्।
Facebook Comment
Comment