धनगढी। डोटीमा जिप दुर्घटनामा परी ४ जना यात्रु घाइते भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढीस्थित अदालत मोडमा जिप दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको फोर्स जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो। ५ जना सवार रहेको जिपमा ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ६५ वर्षीया धौलीदेवी विष्ट, २४ वर्षीया दुर्गादेवी विष्ट, दिपायल सिलगढी नगरपालिका, २९ वर्षीया टंक कुमारी उपाध्याय र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का मोटरसाइकल चालक विश्नु बोहरा रहेका छन् ।
उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। एक जना बच्चा सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षकजोशीले बताए ।
ओभर स्पिडका कारण दुर्घटना भएको उनले बताए। जिप सडकदेखि ५० मिटर तल खसेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Facebook Comment
Comment