सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिने, नागरिक उन्मुक्तिले नदिए के हुन्छ ?

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिने, नागरिक उन्मुक्तिले नदिए के हुन्छ ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शाहले प्रदेशसभा सचिवालयलाई विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका छन् ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनेगरी व्यवस्थापन भइसकेको प्रदेश सभा कार्यालयले जनाएको छ। एमाले संसदीय दलका नेता राजेन्द्र रावलले गत माघ २६ गते मुख्यमन्त्रीबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा शाहले विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । तर, उनीसँग हाल कांग्रेसका १९ र नेकपा एकीकृतका ४ सांसद छन् ।

केन्द्रमा फेरिएको समीकरण हेर्दा भने उनी सुरक्षित देखिन्छन् । त्यसका लागि उनलाई माओवादी र नागरिक उन्मुक्ति मध्य एकले मत दिनुपर्छ। सुदूरपश्चिममा माओवादीको सभामुखसहित ११ र नागरिक उन्मुक्तिको ७ सांसद छन् । माओवादीले मत दिनेबारे निर्णय गरेको छैन।

यता अघिल्लो सरकारलाई पनि मत नदिएर अल्पमतमा पुर्‍याएको नागरिक उन्मुक्ति पार्टीले फेरि पनि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने देखिएको छ। रावल नेतृत्वको सरकारलाई समर्थन गरेर पनि नागरिक उन्मुक्ति पार्टीले नै विश्वासको मत दिएन। त्यो समय ७ जना सांसद काठमाडौं नै बसेर सरकार ढल्यो ।

केन्द्रमा कांग्रेसहितको आठदलीय नयाँ गठबन्धन बनेर यही गठबन्धनमा रहेको नाउपाले यसपटक पनि आफ्नो अडान छाड्ने देखिन्न । उसको पहिलो माग नै पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ र अन्य मागमा लिखित प्रतिबद्धता खोजेको छ।

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका आफ्ना पति रेशम चौधरीलाई रिहा गर्ने लिखित सहमति नभएसम्म विश्वासको मत नदिने बताएकी छुन्। यही कुरालाई पुष्टि हुनेगरी उनले शनिबार सामाजिक सञ्जालमार्फत पनि भनेकी छन्, ‘दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved