उन्मुक्तिको अडान- लिखित सहमतिबिना सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास दिन्नौँ

नेपालभ्युज

उन्मुक्तिको अडान- लिखित सहमतिबिना सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास दिन्नौँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमतिबिना सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएको छ ।

प्रदेश सभामा ७ सिट रहेको उसले लिखित सहमतिबिना मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने बताएको हो । ‘लिखित सहमतिबिना हामी विश्वासको मत दिन्नौँ,’ केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन् ।

मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिँदैछन् । तर, उन्मुक्तिले भने मत नदिने बताएको हो । यसअघि उसले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिएको थियो ।

सुरूमा गठबन्धनबाट एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले तोकेको समयमा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्तिलगायत दलको समीकरण बनेपछि प्रदेशमा शाहले विश्वासको मत पाउने लगभग पक्का भएको हो । तर, उन्मुक्तिले भने विश्वासको मत नदिने बताइरहेको छ ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ ।

प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सदस्य छन् भने एमालेका १० र राप्रपाको १ गरी विपक्षमा ११ मत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved